मनोज अधिकारी
फिक्कल,३ कात्तिक, (रासस) ः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्रि झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नु पर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार समेत रहनुभएका खनालले संविधानको रक्षा र अग्रगमनका लागी पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताउनुभयो । चुनावी अभियानमा गाउँ जानु अघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भन्नुभयो,‘हाम्रा फरक विचार होलान तर यतिबेला हाम्रो लडाई संविधान विरोधी शक्ति विरुद्ध हो,त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।’ देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनहरुमा कम्युनिष्ट र कांग्रेस बिच सहकार्य र प्रतिष्पर्धा हुने गरेको बताउँदै उहाँले यो स्वभाविक भएको उल्लेख गर्नुभयो ।
नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिलाई आकाशे खोर्सानिको संज्ञा दिदै उहाँले ओलिको यात्रा अधोगति तर्फ उन्मुख भएको बताउनु भएको छ । खनालले भन्नुभयो,ओलिले जनताको भावना बुझ्न सकेनन् । उनी आकाशे खोर्सानी जस्तै भए ।’ एमाले पार्टी नै आफुले निर्माण गरेको दाबी गर्नुभएका खनालले पार्टीको नेतृत्वले मुल्य मान्यता ध्वस्त पारेपछि विद्रोह भएको बताउनुभयो । ओलि सरकारको कार्यकाल पूर्णतया असफल भएको खनालको भनाई छ । दुई तिहाई मतको सरकारले काम गर्न नसक्नु असफलता भएको उहाँले टिप्पणि गर्नु भयो । आफ्नो दलको सरकारले आफ्ना कुरा नसुनेको विषय भन्न लाज लाग्ने भन्दै खनालले भन्नुभयो, ‘इलाम क्षेत्र नं १ मा जति विकास गर्नुपर्ने थियो त्यसका लागी पर्याप्त बजेट भएन । आफ्नै दलको सरकारले हाम्रा कुरा सुनेन बरु अहिले गठबन्धनको सरकार बनेपछि थुप्रै बजेट यस क्षेत्रमा पारेका छौँ ।’
नेकपा एमालेका कार्यकर्तालाई समेत भोट दिएर सहयोग गर्न अपिल गर्नुभएका खनालले आफु हार्नु भनेको इलामको भविष्य हार्नु रहेको बताउनुभएको छ । ‘तपाईहरुको सूर्य यहि कलमले लेख्छ आउनुहोस हातेमालो गरौँ इलामको विकास गर्न सबै दल एकजुट हुनुपर्छ ।’ उहाँले भन्नुभयो,‘हुन त मेरा विरुद्ध १०—१२ जनाको उम्मेद्वारी रहेछ, तर मेरो प्रत्यासी कोही देखिन ।’ झलनाथ खनाललाई हराउने दिवा सपना नदेख्न आग्रह गर्दै उहाँले साईबर स्यालहरु सकृय रहेपनि पारकाट्न नसक्ने बताउनु भएको छ । खनालका विरुद्ध निर्वाचन लड्न नेकपा एमालेले जिल्ला अध्यक्ष महेश बस्नेतलाई उम्मेद्वार बनाएको छ । साभार रासस




