इलामः सूर्योदय नगरपालिकामा चियाको मूल्य, गुणस्तर र बजार व्यवस्थापनबारे विवाद भइरहेका बेला कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बरालले चियामा खुल्ला बजारको आवश्यकताबारे छलफल भइरहेको बताउनुभएको छ । किसान र उद्योगीबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्ने तयारी नगरपालिकाले थालेको उहाँको भनाइ छ । चियाको मूल्य निर्धारण, गुणस्तर र बजार पहुँचका विषयमा पछिल्ला वर्षहरूमा देखिँदै आएको विवाद समाधानका लागि किसानको भावना बुझेर निर्णय लिने तयारी भइरहेको उहाँले बताउनुभयो । अन्तर्वार्ताका क्रममा बरालले कार्यवाहक प्रमुखको जिम्मेवारीलाई अवसरसँगै चुनौतीको रूपमा लिएको उल्लेख गर्दै विगतमा उपप्रमुख रहँदा सिकेका अनुभवले काम गर्न सहज भएको बताउनुभयो । “नयाँ काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको छु,” उहाँले भन्नुभयो । उहाँका अनुसार नगरका अधुरा योजनाहरूलाई पूर्णता दिने, बजार क्षेत्रको व्यवस्थापन सुधार गर्ने, विद्युत् पोल, पार्किङ, हाटबजार व्यवस्थापन, सडक, स्वास्थ्य, शिक्षा, यातायात र खानेपानीजस्ता क्षेत्रमा सुधार गर्ने प्राथमिकता रहेको छ । चियामा प्रत्येक वर्ष सिजनसँगै दोहोरिने विवादबारे बरालले नीति निर्माणमा केही कमजोरी भएको स्वीकार गर्नुभयो । समर्थन मूल्य निर्धारण संघीय कानुन अन्तर्गत पर्ने विषय भएकाले स्थानीय तहबाट मात्र समाधान सम्भव नभएको उहाँको भनाइ छ । उहाँले किसान र उद्योगीबीच समझदारी आवश्यक रहेको औंल्याउँदै “खुल्ला बजार भनेको जहाँसुकै बेच्न पाउने संवैधानिक अधिकारसँग जोडिएको विषय हो, यसलाई रोक्न मिल्दैन,” भन्नुभयो । तर मूल्य शृङ्खला निर्धारणमा भने दुवै पक्षबीच सहमति आवश्यक रहेको उहाँले बताउनुभयो ।
सूर्योदय नगरपालिकालाई चियाको राजधानीको रुपमा चित्रित गरिन्छ । नगरपालिकाले २०७५ सालमा किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो न्युनतम रु ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको थियो । तर, चियाको मूल्यसम्बन्धी विवाद सात बर्षसम्म पनि समाधान भएको छैन । कार्यविधि बनाएर लागू गरेको सात वर्ष पूरा भए पनि स्थानीय सरकारले समयअनुकूल परिमार्जन गर्न सकेको छैन। किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । जसको मूल्य किसानले न्युनतम ४० रुपैयाँ पाउनुपर्ने प्रावधान छ । कार्यविधि आएलगत्तै किसानहरूले उत्पादनको उचित मूल्य नपाएपछि सडकमा चिया पोखेर विरोध समेत जनाएका थिए । कार्यविधिपछि उद्योगीहरूले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै उद्योग बन्द गरेका थिए । सबै पक्षबीच भएको सहमतिमा दुई पात एक सुइरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मूल्यमा खरिद गर्ने सहमति थियो । बीचको सात बर्ष यस्तै विवाद हुँदै तत्कालको समाधान खोज्दै बित्यो । अहिले, चियाको विषयमा नयाँ छलफल भैरहेको पाईएको छ ।
यीनै विषयमा कार्यवहाक नगरप्रमुख दुर्गा कुमार बरालसँग पत्रकार मनोज अधिकारीले गर्नुभएको कुराकानीको संपादित अंशः
प्रश्नः कार्यवहाक नगरप्रमख हुनुलाई अवसरका रुपमा मात्रै लिनुभएको छ की, केही चुनौतीहरुको समेत महसुस गरिरहनुभएको छ?
जवाफः काम गर्ने कुरामा चैँ कसरी धेरै काम गर्न पाईन्छ भन्ने खोजीमै हुन्छु । मैले यसलाई अवसरका रुपमा पनि मानेको छु । हुँदाहुँदै थुप्रै चुनौतीहरु छन् । समाधान गर्दै जान सक्छु भन्ने आँट÷मनोबल छ । अर्को कुरा के भने प्रमुख र उपप्रमुख दुबै पदको भूमिका निभाउनलाई मैलै तीन बर्ष उपप्रमुख हुँदा धेरै कुरा सिकेको छु । काम, कर्तब्य र अधिकार बुझेको हुनाले त्यति धेरै असहज छैन । काम गर्छु । आजभन्दा अघि गरेका भन्दा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता बोकेको छु ।
प्रश्नः मैले परिवर्तन गर्नैपर्छ भन्ने सोच्नु भएका नविनतम काम केके छन्?
जवाफः निवर्तमान मेयर साहेबले गर्दैगरेका अधुरा कामहरु पनि छन् । ती कामलाई पूर्णता दिनुपर्छ भन्ने ठानेको छु । सूर्योदयका बजारी क्षेत्रहरुमा विजुलीका पोल, बजार व्यवस्थापन, हाट बजार व्यवस्थापन, पार्किङ लगायतका काममा सुधार ल्याउनु छ । सडक, स्वास्थ्य, शिक्षा, यातायात, पूर्वाधार, खानेपानीका कुरामा विज्ञ, दल, पत्रकार सबैसँग छलफल गरेर काम गनुपर्छ । र, कृषिमा चिया क्षेत्रको समस्या समाधान कसरी गर्न सक्नु भन्ने कुरामा म लागेको छु । चियामा उठेका प्रश्नको सम्बोधन गर्नुपर्छ । किसानको भावना अनुसार काम गर्छु । चियाको गुणस्तरीयता वृद्धि र अर्गानिक बनाउने कुरामा आगामी बजेटमा सम्बोधन गर्नेछु । यहाँ किसानको थुप्रै बाँझो जमिन छ । त्यहाँ अलैँची रोपण गराउनु छ । कफिलाई एक उद्यम र व्यवसायको रुपमा विकास गर्छु भन्ने सोचाई छ ।
प्रश्नः जब–जब सिजन सुरु हुन्छ । तब चिया विवाद बल्झिन्छ । दीर्घकालिन समाधान कहिले र कसरी हुन्छ त?
जवाफः यो गम्भीर विषय पनि हो । मलाई लाग्छ, जुन कार्यविधिहरु त बनायौँ । तर समर्थन मूल्य चै संघिय कानुन अन्तर्गत पर्ने भएकाले यो नराखेको भए हुन्थ्यो भन्नेमा छ । तर चियालाई कसरी प्रमोशन गर्ने? किसानलाई गुगास्तरीय चिया बनाउनका लागी छटाई, कटाई, टिपाई, मलखाँद र अग्र्यानिकीकरणमा कसरी लैजान सकिन्छ भन्ने विषयलाई प्रमोट गर्नेगरी कार्यविधी भएको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । त्यतिगर्दैगर्दा पनि अघिल्लो जनग्रतिनिधिले गर्नुभएको निर्णय ठिकै थियो जस्तो मलाई लाग्छ । न्युनतम सुईरो चालिस प्रतिशत भन्दा कम भएकोलाई चालिस रुपैयाँ भनिएको हो । त्यहाँभन्दा माथी सुईरो आईसक्दा चैँ जति धेरै हुन्छ । त्यसैको आधारमा गर्ने भनेर भनिएको हो । तर, यहाँ बुझाई खराब भयो । उद्योगपतिहरु पनि सबै एकै खाले भएनन् । किसानहरुले पनि चियाको दुई पात एक सुईरो टिप्ने संस्कार संस्कृति छ । त्यो भुलेर एक हात एक सुईरो टिपेकाले पनि समस्या आएको हो । समस्या आयो भन्दैमा समाधान नगर्ने भन्ने होइन । मैले चै किसानको भावना केहो ? खुल्ला बजार गर्ने भनेर केही कुरा आउँदै गर्दा कस्तो खुल्ला बजार? खुल्ला बजार भन्दैमा जहाँपनि बेच्न पाईने भन्ने होकी? के भन्न खोजेको हो । खुल्ला बजारको विषयमा हामीले नियन्त्रण गर्न नमिल्ल्ने संवैधानिक हक छ । नेपालको संविधानले नेपालभरी जहाँपनि हाम्रो सामान बेच्न र किन्न पाईन्छ । यो अधिकारको विषय भएकाले यस्लाई रोकिराख्नुपर्ने म देख्दिन । अब मूल्य शिृङ्खलाको कुरामा चैँ किसान र उद्यँेगपति बसेर निर्धारण गर्नुपर्छ । चियालाई अग्र्यानि बनाउने, गुणस्तरीय बनाउने, प्रकृया केके छ सूर्योदयले कार्यक्रम ल्याउँछ । तेश्रो मुलुकमा कसरी बिक्री वितरण गर्न सकिन्छ । त्यसको आधार तयार गर्छौँ ।
प्रश्नः किसानलाई चियामा अनुदान दिएर प्रोत्साहन गर्ने कुरामा तीन तहका सरकार बीच सहमति कसरी जुट्ला?
जवाफः अर्गानिकमा जाँदा क्वालिटी राम्रो हुन्छ । क्वान्टिटी घट्छ । घटेपछि एक किसानले जसरी परिवार चलाई रहेको थियो उसलाई गारो पर्छ । त्यो विषयमा चै प्रदेस सरकार र संघीय सरकाकारको कृषि मन्त्रालयमा कुरो पुग्छ । सबै वडालाई एकै पटक अग्र्यानिक बनाउन सक्दैनौँ । केही वडालाई छनोट गरेर कति कम्पेन्सेसन दिँदा चैँ उहाँहरुको हिजो उत्पादन भएको चिायाको मूल्य जति हुन सक्छ त्यो गरेर चैँ जाने भन्ने लागेको छ ।
प्रश्नः अन्त्यमाः अलवेदर सडकको स्थिति केछ? गत भदौको पहिरोले पुरिएका सडकका नाली कहिले सोर्नुहुन्छ?
जवाफः यो निवर्तमान मेयर साहेव हुँदै अघि बढेको कार्यक्रम हो । चार वटा बुँधामा हामीले त्यो काम गरेका छौँ । एउटा, नगरस्तरी, प्रदेशस्तरीय र नगरको एमटीएम्पीमा परेका बाटा र कृषि सडकहरु तथा गौरभको योजना अलवेदर लगायतका तीनचार विषयमा सहमती गरेर मर्मत गरेर जाने भन्ने निर्णय गरेको थियो । त्यो निर्णय अनुसार हामीले हाम्रो मेसिन अलवेदरमा प्रयोग गर्ने, सबै वडामा पठाउने र त्यहाँका नालीहरु खुलाउने र पहिरोले छेकेका बाटो खुलाउने निर्णय भएको थियो । अल वेदर सडकमा खाल्डो परेको भए रोलर लगेर एक पटक मर्मत गर्ने भनेर निर्णय थियो । चुनावले गर्दा ढिलाई भयो । विपतको वैठक बसेर तत्काल काम सुरु गर्ने तयारी छ ।
प्रश्नः प्रदेश सरकारले स्थानीय तहमा आएर बनाएका सडकको मर्मतसम्भारमा चै यहाँहरु काम गर्नुहुन्न?
जवाफः यो विषयमा अधिकार क्षेत्रको कुरा उठिहाल्छ । हामीले त्यहाँ हात हाल्न गारो छ । मयूँ खोलाको पुल भत्किँदा तपाईलाई थाहा छ । पहिले नगरप्रमुख र उपप्रमुख पुगेका थियौँ । संचालन गर्यौँ । माईजोगमाई र सूर्योदयका जनप्रतिनिधि बसेर समाधान गरेका हौँ । अहिले चै त्यहाँ केही रकम आएको भन्ने कुरा सुनेको छु । त्यसको ठेक्का लगाउने कुरा चल्दैछ । ढोडेको पहिरो नबनाए गाडी चल्दैन । खोलाले भित्ता कटिङ गरेको छ । जोखिम छ । माननीय ज्यूसँग पनि कुरा हुँदै छ । आएको बजेट आवश्यक ठाउँमा लगाएर अहिले बर्खामा गाडी गुड्ने स्थिति बनाउनुछ ।
अन्य विषयमा पुनः कुराकानी गर्नेछौँ । समय दिनुभयो । धेरै धेरै धन्यवाद ।

