मनोज अधिकारी
३०फागुन,इलामः इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । फागुनको अन्तिम सातादेखी उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताउनुभयो ।
चियाको पहिलो टिपाइलाई विशेष सावधानीका साथ संकलन गरिन्छ । भर्खर उम्रेका कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग पनि बढी रहने व्यवसायी पाण्डेको भनाई छ ।



इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार, यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट टिपाइ सुरु भएको छ । उहाँले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिनुभयो । “यसलाई सुरक्षित ढङ्गले टिपिन्छ । यहीबाट उच्च गुणस्तरको चिया तयार हुन्छ,” सुब्बाले भन्नुभयो, “पहिलो टिपाइमा मात्रै करिब अढाई सय किलो चिया संकलन भएको छ ।” उहाँका अनुसार सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा पनि क्रमशः चिया टिपाइ सुरु भइसकेको छ ।
इलामको जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहनुभएका सुब्बाले यस वर्ष पनि हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताउनुभयो । किसानलाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो एक हजार पाँच सय रुपियाँसम्म मूल्य दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
स्थानीय किसानहरूका लागि चियाको पहिलो टिपाइ वर्षको आशाको सुरुवात जस्तै हुने गर्छ । सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य पनि राम्रो पाइन्छ । “पहिलो टिपाइ राम्रो भयो भने वर्षभरि नै चिया उत्पादनप्रति उत्साह बढ्छ,” अधिकारीले भन्नुभयो, “यो किसानका लागि वर्षको सुरुवातमै आउने राम्रो आम्दानी हो ।”
माई नगरपालिका–५ का किसान बुद्ध लिम्बू पनि पहिलो टिपाइलाई विशेष महत्वका साथ लिने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा भने चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना छ ।
इलामसँगै पाँचथरमा रहेको कञ्चनजङ्घा चिया कारखानाले पनि पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ । उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया विशेषगरी जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।
इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन् । मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ । उक्त परिमाणको चियाबाट दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्याङ्कले देखाएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्क अनुसार इलाममा करिब ७ हजार ६ सयभन्दा बढी किसानले ७ हजार ३ सय हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन् ।

