युवा उद्यमीलाई प्रोत्साहित गर्दै माईजोगमाई गाउँपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०८२ चैत्र २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः माईजोगमाई गाउँपालिकाले उद्यमीलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि यहाँका युवामा व्यवसाय सञ्चालन गर्ने उत्साह बढेको छ । ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रम अन्तर्गत सीपमुलक तालिम र अनुदान पाएका उद्यमीहरू गाउँमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनिरहेका छन् ।
बिस्कुट उत्पादनमा  अनुदान पाउनुभएकी पार्वती भट्टराई थप व्यवसायीक बन्न प्रोत्साहन मिलेको बताउनुुहुन्छ । “अनुदान रकमले मेसिन किनेको छु । उत्पादन बढाउने योजना छ ।” भट्टराई बिस्कुट बेकरी उद्योगकी संचालक पार्वतीले भन्नुभयो, “अहिले एकपटकमा ६०–८० प्यागेट उत्पादन गर्छु । प्रतिगोटा एक सय रुपैयाँले बिक्री हुन्छ । बजार चैँ गाउँपालिका भित्र मात्रै सिमीत छ । बाहिर पठाउन उत्पादन बढाउनु पर्नेछ ।”
‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रम सुरु भएको तीन बर्ष भयो । पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम, गत वर्ष कोदोको बिस्कुट उत्पादन तालिम र यसबर्ष ललिपप निर्माण तथा दुग्ध उत्पादन प्रशोधन सम्बन्धी तालिम सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष प्रबिना राईले बताउनुभयो ।
“कार्यक्रममार्फत मौरीपालन, अलैंची खेती, पशुपालन, ब्युटी पार्लर तथा बिस्कुट उत्पादन जस्ता क्षेत्रमा उत्कृष्ट काम गर्ने उद्यमीलाई अधिकतम २ लाख रुपैयाँसम्म अनुदान दिएका छौँ ।” उपाध्यक्ष राईले भन्नुभयो, “व्यवसायमै सक्रिय उद्यमीलाई सामग्री तथा नगद सहयोग गर्ने गरेका छौँ । हाम्रो मुख्य उद्देश्य स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु हो ।”
पहिलो वर्ष दुग्ध तथा घ्यु प्रशोधन तालिम दिएपछि वडा नं. १ का तुलबहादुर लिम्बूको कृषि तथा डेरी उद्योग, वडा नं. २ की रेखा रिजालको पाण्डे डेरी उद्योग र वडा नं. ६ का इन्द्र थेबेको एन.एस डेरी उद्योगलाई सामग्री सहयोग दिईएको कार्यक्रमका फोकल पर्सन मानबहादुर पौडेलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम अन्तर्गत गतबर्ष कोदोको बिस्कुट उत्पादन सम्बन्धी तालिम दिईएर उत्कृष्ट ६ व्यवसायलाइ प्रोत्साहित गर्न नगद अनुदान दिईएको थियो । “वडा नं १ की पार्वती भट्टराईले संचालन गर्नुभएको भट्टराई बिस्कुट बेकरी उद्योगलाई बस्तुगत सहायता अनुदान दिईएको छ । त्यसैगरी वडा नं ३ का रुद्र कुमार संंजेलको गहिरीगाउँ जैविक कृषि फार्म, वडा नं ४ का सनबहादुर लिम्बूको सुनौलो कृषि तथा पशुपालन फर्म, वडा नं ५ का लक्ष्मण खत्रीको कुशिका एकीकृत कृषि तथा पशुपंक्षी फर्म, वडा नं १ की कञ्चन आचार्यको कञ्चन ब्यूटी पार्लर तथा प्रशिक्षण केन्द्र र वडा नं ३ का लक्ष्मी तामाङ र पुजन प्रधानले संचालन गर्नुभएको पशुपति पशुपालन तथा कृषि फर्मलाई नगद अनुदान प्रदान गरिएको हो ।” फोकल पर्सन पौडेलले भन्नुभयो ।
यस वर्ष ललिपप निर्माण तथा दुग्ध प्रशोधनसम्बन्धी तालिम ३० जनाले लिईएका छन् । अब उक्त सीपलाई व्यवसायीक बनाउनेहरुलाई अनुदान दिने गाउँपालिकाले जनाएको छ । कार्यक्रमले गाउँका युवालाई विदेश होइन, आफ्नै माटोमै सम्भावना खोज्न प्रेरित गरिरहेको गाउँपालिकाका अध्यक्ष कुश बहादु थेबेले बताउनुभयो ।
“अनुदान पाएका उद्यमीहरू थप उत्साहित बन्नुभएको छ । उहाँहरुको सफलताले अन्य युवामा पनि व्यवसाय सुरु गर्ने आँट बढाएको छ । गाउँमै सीप, स्रोत र सहयोग जोडिँदा ‘रोजगारीका लागि विदेश’ भन्ने सोच बदलिँदै गएको संकेत पाएका छौँ ।” अध्यक्ष थेबेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय