मनोज अधिकारी
१९चैत,इलामः सूर्योदय नगरपालिका भित्रका सहरी क्षेत्रका सामुदायिक कुकुरले दुर्घटना बढाउने जोखिम भएपछि बन्ध्याकरण गरिँदै छ । “दुई दिनमा डेढ सयको बन्ध्याकरण गरियो । आज (बिहिबार) ५० वटाको गर्नेछौँ ।” पशु शाखाका प्रमुख विपिन सिंहले भन्नुभयो, “यहाँका पशुपतिनगर, फिक्कल, कन्याम, हर्कटे, छिपिटार, आईतबारे, तीनघरेका कुकुरहरुको बन्ध्याकरण गरिँदै छ ।”
कुकुरको सङ्ख्या वृद्धि मात्र नभई अव्यवस्थित कुकुरको टोकाइका घटना समेत वृद्धि भएका छन् । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । धेरै घाइते भएका छन् । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका बिरामी अस्पतालमा आउने गरेको फिक्कल अस्पतालका डाक्टर सरोज दर्नालले जानकारी दिनुभयो ।
फिक्कलबाट आइतबार सदरमुकाम पुग्नुभएका सन्देश खड्काको मोटरसाइकल, कुकुरमा अल्झिएर लड्यो । “कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो ।” उहाँले भन्नुभयो, “स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरूको दायित्व हो ।”
नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले बताउनुभयो । सामुदायीक कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले सामुदायीक कुकुर व्यवस्थापनको पहल थालेको उहाँको भनाई छ ।
सूर्योदय बजारका सामुदायीक कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउनु परेकोे कार्यवहाक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । “छाडा कुकुरका कारण सूर्योदयका बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरूको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित काममा लागेका छौँ ।” प्रमुख बरालले भन्नुभयो, “कुकुरले जथाभाबी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिज विरुद्धको खोप दिने र बन्ध्याकरण गरिने हाम्रो प्रयास हो । योजना कार्यान्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।”
कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । विभिन्न जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । बजार क्षेत्रमा मात्र दुई सय हाराहारीमा छाडा कुकुर रहेको अनुमान छ ।



