मनोज अधिकारी
फिक्कल,१८ कात्तिकः प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका वडा नं ७ कन्याममा स्काइ वाकका लागि टावर निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काइ वाक सुरू भएको बताईएको छ । डेढ वर्षमा निर्माण सकेर कार्तिक १८ गतेबाट पर्यटकका लागि स्काइ टावर खुला गरिएको छ ।
उक्त टावरको शुक्रबार नगरप्रमुख रण बहादुर राईले उत्घाटन गर्नुभयो । १२ जना महिलाहरुको ४ करोड लगानीमा बनेको टावर उत्घाटन गर्दै नगरप्रमुख राईले पर्यटन प्रवर्धनका लागी निजी क्षेत्रसंग नगरपालिका सहकार्य गर्दै जाने बताउनुभएको छ । उहाँले कन्याम आफँैमा सुन्दर ठाउँ भएको त्यसमा पनि यस्ता नयाँ संरचना निर्माणले थप सुन्दर बनाएको बताउनुभयो ।



स्काइ टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिनुभएको छ। टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कंचनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा स्विङ पनि तयार हुने रोकायले बताउनुभयो ।
स्काइ वाक गर्ने पर्यटकले ५०० रुपैयाँको टिकट लिनुपर्ने छ, साथै भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि ८ जनासम्म चढाइनेछ । स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन् । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काइ वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सन्जिब रोकायाले जानकारी दिनुभएको छ । विशेष गरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले पनि यो परियोजना विकास गरिएको हो ।
सेफ स्टिल प्रालि, जाल्पादेवि इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काइ टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो । स्काइ वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको निर्देशक कार्यक्रमकी अध्यक्ष रिना भुसालले बताउनुभएको छ। उत्घाटन कार्यक्रममा गायिका एलिना चौहान र नायिका बर्षा राउतले सांगितिक प्रस्तुती राख्नुभएको थियो ।साभार रासस

