मनोज अधिकारी
फिक्कल,२५ कात्तिक ः चार दशक नेपाली कांग्रेसको राजनिती गर्नुभएका विक्रम पान्डे इलाम क्षेत्र नं १ बाट आशन्न निर्वाचनका लागी प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ । कांग्रेसको पक्कड क्षेत्र बागविरेका पुराना नेता पान्डेको उम्मेद्वारीले इलाम क्षेत्र नं १ मा तरङ्ग ल्याईरहेको छ ।
नेपाली राजनितीका ‘हेभिवेट’ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा कांग्रेसका पान्डेको स्वतन्त्र उम्मेद्वारीले राजनितीक दलका उम्मेद्वारहरुलाई झस्काएको छ । खनालका मुख्य प्रत्याशी उम्मेद्वार एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई मानिएको छ । तर खनाल र बस्नेत दुबैको लागी पान्डे चुनावी तगारो जस्तै देखिनुभएको छ ।



कांग्रेसको क्षेत्रिय प्रतिनिधि रहनुभएका उहाँले पार्टीको तल्लो तहदेखि क्षेत्रिय र जिल्ला समितिमा समेत जिम्मेवारी बहन गरिसक्नुभएको छ । उहाँ पटकपटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनिसक्नुभयो ।
तपाईको उम्मेद्वारी किन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सत्ता स्वार्थका लागि गरिएको गठबन्धन विरुद्ध मेरो उम्मेद्वारी हो ।” उहाँ भन्नुहुन्छ, “यो गठबन्धन अपवित्र छ । इलामको विकास गर्न नसक्ने खनाललाई विदा गर्न मैले आँट गरेको छु ।” पान्डे निकट एक ब्यक्तिले भन्नुभयो,“इलाममा दुग्ध वितरण आयोजनाको दुग्ध संकलन कार्यमा उहाँको अतुलनिय भुमिका छ । आयोजनाले किसानलाई दुधको मुल्य ज्यादै कम दिएका बेला किसानको नेतृत्व गर्दै आन्दोलन गरि उहाँ सफल हुनुभएको थियो । किसानले उहाँको त्यो गुण भुलेका छैनन् ।”
प्रतिनिधिसभामा आफ्नो उम्मेद्वार नहुँदा निराश जस्तै देखिएका कतिपय कांग्रेस मतदातालाई पान्डेको उम्मेद्वारीले आकर्षण बडाएको छ । नाम नबताउने सर्तमा कांग्रेसका एक कार्यकर्ताले भन्नुभयो,“संधै एउटैलाई जिताउनुपर्ने भयो विकास केही भएन पार्टीको निर्देशन जस्तो होस हामी त विक्रम जिलाई भोट हाल्छौँ ।” तपाई कति मत ल्याउनुहोला ? भन्दा पान्डे भन्नुहुन्छ,“जितका लागी पर्याप्त मत ल्याउँछु । कांग्रेसका धेरै साथिहरु मेरा पुराना सहकर्मी छन् । हामिले पार्टीमा संगै योगदान गरेका छौँ । म पार्टी मन नपरेर होईन नेतृत्वको लम्पसारवादी सोच र सत्तालिप्त गठबन्धन विरुद्ध जन्मिएको विद्रोही शक्ति हुँ त्यसैले उहाँहरु लगायतको भोट म पक्का पाउँछु ।”
प्रतिनिधिसभामा आफ्नो उम्मेद्वार नभएकाले कांग्रेसका मतदाता भोट के मा हाल्ने भन्ने अन्योलमा देखिएका छन् । ३० बर्ष प्रतिस्पर्धि रहनुभएका खनाललाई पार्टीको निर्देशन आउँदैमा मत नदिने कतिपयले बताउने गरेका छन् । आफैमा नेकपा एसको संगठन विस्तारको क्रममा हाल कमजोर हुनुले खनाललाई निर्वाचन जित्न चुनौती देखिन्छ । एमालेको संगठन दरिलो भएपनि पार्टी भित्र असन्तुष्ट पक्ष समेत छन् उनिहरुको भोट विक्रम पान्डेमा गएमा पान्डेले निर्वाचन जित्न सक्ने आंकलन हुन थालेको छ । तर संगठन विना ‘हेभिवेट’ नेताहरुलाई हराउन भने पान्डेलाई मुस्किल नै देखिन्छ ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ इलामबाट खनाल,बस्नेत र पान्डे सहित जनता समाजवादी पार्टीका कमल कुमार राई,राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा,नेपाली कांग्रेस (बिपी) का गणेश प्रसाद पौडेल, राष्ट्रिय जनमक्ति पार्टीका पदम बहादुर लिम्बु,मंगोलनेशनल अर्गनाईजेशनका बुद्धलाल मेचे,संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका जितकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेद्वार निमातेन्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मि रहनुभएको छ ।

