पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,११ मङ्सिर०ः इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार महेश बस्नेत विजयी हुनुभएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई फराकिलो मतान्तरले हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचीत हुनुभएको हो । उहाँले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ६ सय ६२ मतले पराजित गर्नुभएको छ ।

बस्नेतले २५ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ भने खनालले २३ हजार ८८ मत प्राप्त गर्नुभएको छ । ५९ हजार ७ सय १ मतगणना हुँदा २ हजार ६ सय ८७ मत बदर भएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यलयले भने भोलिमात्र आधिकारी घोषणा गर्ने जनाएको छ । अधिकृत दाहाल भन्नुभयो, “हाल समानुपातिक तर्फको मतगणना भईरहेको छ । कतिपय मतदाताले प्रत्यक्ष तर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाईएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौ ।”

यता खनालले भने चुनावमा धाँधली भएको आरोप लगाएर पुनः मतदानको माग गर्नुभएको छ । विजयी उम्मेद्वारलाई बधाई ज्ञापन नगरि उहाँ आज नै काठमाठौँ फर्किसक्नुभयो । सत्ता गठबन्धनका साझा उम्मेद्वार खनाललाई चुनावमा कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको साथ थियो ।
बस्नेत जनसाँस्कृतिक मन्च हुँदै एमालेको राजनीतिमा आउनुभएको थियो । उहाँ इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसक्नुभएको छ भने नेपाल नगरपालिका संघको प्रदेश १ संयोजक समेत हुनुभएको छ । बस्नेतले पार्टीको कार्यकारी जिम्मेवारी लिनुभएको धेरै भएको छैन ।

एमालेको दसौं महाधिवेशनबाट तत्कालीन जिल्ला अध्यक्ष राम राना केन्द्रीय कमिटीमा चुनिनुभएसँगै बस्नेतले अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो । उहाँ साहित्यकार समेत हुनुन्छ । बस्नेतले सुनुवार जातिको बारेमा अनुसन्धानमूलक पुस्तक लेख्नुभएको छ भने साहित्यसम्बन्धी अन्य दुई पुस्तक लेख्नुभएको छ ।
कुनै बेला पूर्व प्रधानमन्त्री खनाललाई जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेत यसपटक उनै खनाल विरुद्ध चुनावी लडाईँमा होमिनुपर्यो ।
संसदीय चुनावमै पहिलोपल्टको जित निकाल्न सफल बस्नेत एमाले केन्द्रीय उपाध्यक्ष नेम्बाङ निकट नेता मानिनुहुन्छ । नेम्बाङ इलाम क्षेत्र २ बाट ११६ मतको साँघुरो अग्रताले पाँचौपल्ट निर्वाचीत हुनुभएको छ। यो नतिजासँगै प्रतिनिधिसभातर्फ इलामका दुवै क्षेत्र एमालेले जित्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय