सूर्योदयमा मनाईयो ३४ औँ प्याब्सन दिवसः ‘म्याराथन’मा १७ विद्यालयका १४३ विद्यार्थी सहभागी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
इलाम,२३पुसः ३४ औँ प्याब्सन दिवसको अवसर पारेर पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका–७ कन्यामबाट सूर्योदय–१० स्थित फिक्कल बजारसम्म ‘म्याराथन’ आयोजना गरिएको छ । हिजो(मंगलबार) भएको प्रतियोगितामा १७ विद्यालयका ७४ छात्र तथा ६९ छात्रा धावक सहभागी थिए ।

८ दशमलब ६ किलोमिटर दूरीको दौडमा छात्रतर्फ एभरलेन्ड इन्टरनेशनल एकेडेमीका आयुस राई र छात्रातर्फ सोही विद्यालयकी शृष्टी राई प्रथम हुनुभएको छ । आयूसले २२ मिनेट २० सेकेन्डमा यात्रा पूरा गर्नुभयो भने शृष्टीले १९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको प्याब्सन केन्द्रीय उपाध्यक्ष युवराज वाशिष्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार, छात्रको फिक्कलबाट ८ दशमलब ६ किलोमिटर टाडा कन्याम भ्यू पोईन्टबाट र छात्राको ८ किलोमिटर टाडा कन्याम पाल्टाँगेबाट दौड सुरु गरिएको थियो ।

‘सूर्योदय कोशी प्रदेशकै पर्यटकीय गन्तब्य भएकाले स्थानीयस्तरबाट पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले म्याराथन गरिएको हो ।’ वाशिष्टले भन्नुभयो, ‘ब्यस्त मेची राजमार्गमा होसियारी पूर्वक धावकहरुले यात्रा पूरा गरे । ठाउँठाउँमा प्रहरीले ट्राफिक जाम व्यवस्थापन गर्नुपरेको थियो ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) सूर्योदय नगर कार्य समिति इलामले ३४ औँ प्याब्सन दिवसको अवसरमा ‘म्याराथन’ आयोजना गरेको हो । बालबालिकालाई पाठ्यपुस्तक बाहेक अतिरिक्त कृयाकलापमा सकृय बनाउन र दौड प्रतियोगिता मार्फत यहाँको पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले दिवसको अवसरमा म्याराथन गरिएको नगर प्याब्सन अध्यक्ष लाकेल लामाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पालिकाले यहाँका सबै विद्यालय र विद्यार्थीहरुलाई समान दृष्टिकोण राखेको बताउनुभएको छ । ‘हामीले निजी र सामुदायीक विद्यालयका सबै बालबलिकालाई समान ढङ्गले हेरेका छौँ । सेवा सुविधाका सवालमा निजीलाई हेप्ने र सामुदायीकलाई मात्रै चेप्ने चलन छैन ।’ उहाँले भन्नुभयो, ‘सबैको समान भुमिकाबाट मात्रै शैक्षिक स्थिति सुधार हुन सक्छ । खेलकुदले शारिरिक, मानसिक तथा संवेगात्मक रुपमा स्वास्थ्य बनाईराख्ने चिज भएकाले यसखालका कार्यक्रम भईरहन आवश्यक छ ।’
यहाँका चार हजार एक सय विद्यार्थी प्याब्सनमा आबद्ध विद्यालयमा अध्ययनरत छन् । नगरक्षेत्रका आधारभूत र माद्यमिक तहका २६ र छिमेकी पालिका रोङ गाउँपालिकाको २ वटागरि २८ विद्यालय सूर्योदय प्याब्सनमा आबद्ध रहेका हुन् ।

‘सूर्योदय नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका हो । यहाँको सबैभन्दा बढी लगानी शिक्षामा छ ।’ प्याब्सन केन्द्रीय उपाध्यक्ष वाशिष्टले भन्नुभयो, ‘यस्तो नगरपालिकाका सबै बालबालिका विद्यालय जानुपर्छ, उनिहरु बालश्रम, बालविवाह लगायतका हिंसा, शोषण र विभेदको शिकार हुनुहुँदैन भन्नेकुरामा सरकारलाई सचेत हुनुपर्छ ।’

कतिपय पालिकाले सामुदायीक र संस्थागत विद्यालयलाई विभेद गरेको गुनासो आएपनि सूर्योदयमा विभेद नभएको प्याब्सन अध्यक्ष लामाको भनाई छ । ‘यहाँको नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जस्तै संस्थागत विद्यालयका विद्यार्थी छात्राहरुलाई स्यानेटरी प्याड उपलब्ध गराएको छ । सामुदायिकमा जस्तै बाल बचतको कार्यक्रम निजीमा पनि लागु गरिएको छ । हामीबिच समन्वय छ । सहकार्य छ ।’

प्याब्सनमा आबद्ध निजी विद्यालयमा फिसको स्ट्रक्चर महङ्गो नभएको अध्यक्ष लामाले बताउनुभयो । ‘सूर्योदयका सामुदायीक विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीको बार्षिक खर्च ५४ हजार हुँदो रहेछ । तर, प्याब्सनमा जोडिएका निजी विद्यालयमा एक विद्यार्थीको बार्षिक खर्च ५४ हजार पुग्दै–पुग्दैन ।’ उहाँले भन्नुभयो, ‘सामुदायीक विद्यालयका विद्यार्थीको खर्च सरकारले बेहोर्छ, निजी विद्यालय पढाउँदा अभिभावकको खर्च हुन्छ । त्यति फरक हो । त्यसर्थ हामी महङ्गो होईन ।’ निजीमा कक्षा दशकै विद्यार्थीले पनि बढीमा चालिस हजारले एक बर्ष पढिरहेको उहाँको भनाई छ । शिक्षामा निजी क्षेत्रबाट राज्यलाई योगदान पुर्याइरहेको प्याब्सनको भनाई छ ।

सरकारले निजी क्षेत्रका विद्यार्थीहरुलाई पनि समान व्यवहार गरिरहेको कार्यक्रमकी विशेष अतिथि रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भूजेलले बताउनुभयो । ‘एउटा निजी संस्था चलाउन गाह्रो छ । निजी विद्यालय छुट्टै चलेको होइन, गैरनागरिक भनेर व्यवहार गर्न पनि मिल्दैन । अहिले आर्थिक टेवामा त सबैभन्दा बढी निजी विद्यालयले पनि केही गरेको छ ।’ उपाध्यक्ष भूजेलले भन्नुभयो, ‘तीन तहका सरकारले यो कुरा बुझ्नुपर्छ । आफूले बनाएको नियमभित्र समान व्यवहार गर्नुपर्छ । सुशासनमा नरहनेलाई सुशासनमा ल्याउनु पर्छ । हामी त्यसैको अभ्यास गरिरहेका छौँ ।’

कार्यक्रममा प्याब्सन इलामका अध्यक्ष रगुन गुरुङ, प्याब्सन इलामका सल्लाहकार भक्तराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा पीसलेन्ड नेशनल एकेडेमीका रीसब राई दोश्रो, रोज मेरी अङ्ग्रेजी स्कुलका पुरन राई तेश्रो, न्यू वल्र्ड अङ्ग्रेजी स्कूलका सदीप शिवा चौथो र एभरलेन्ड इन्टर्नेशनल एकाडेमिका अनमोल राईले पाँचौ पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरि छात्रा प्रतियोगितामा रोज मेरी अङ्ग्रेजी स्कूलकी सम्पदा राई दोश्रो, अन्तू एकाडेमीकी स्मारीका तेश्रो, सोही विद्यालयका सीरभ तामाङ र संखमा तामाङ क्रमशः चौथो र पाँचौ भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय