माईजोगमाईमा ज्येष्ठ नागरिकलाई सिरक, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री

द्वारा प्रकाशित गरिएको हो |
२०८३ मंसिर ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः चिसो मौसममा ज्येष्ठ नागरिकलाई राहत दिन माईजोगमाई गाउँपालिकाले गाउँमै पुगेर न्यानो सिरक वितरण गरेको छ। ८० वर्ष उमेर पार गरेका वडा नम्बर २ का १६ जना ज्येष्ठ नागरिकले सिरक पाएपछि खुसी व्यक्त गरेका छन्।

गाउँपालिकाले एकैदिन ज्येष्ठ नागरिक सम्मान, अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र राष्ट्रिय परिचयपत्र वितरण गरी तीनवटा कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाले ८० वर्ष उमेर नाघेका १६ जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको छ। त्यस्तै, अपाङ्गता भएका ६ जना विद्यार्थीलाई छाता, कापी, डटपेन, ज्यामितीय सामग्री र क्यालकुलेटरलगायत शैक्षिक सामग्री प्रदान गरेको छ।

सिरक वितरण गर्दै गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले जीवनका असंख्य अनुभव बटुलेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो सिरक उपलब्ध गराइएको बताउनुभयो।

उपाध्यक्ष प्रविना राईले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने र सुखदुःख बुझ्ने अवसरसमेत भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै लक्षित वर्गका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन भइरहेको बताउनुभयो।

कार्यक्रमका अध्यक्ष एवं वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर सुवेदीले गाउँपालिकाले उपलब्ध गराएको उपहारलाई सम्झनाका रूपमा ग्रहण गरी उपयोग गर्न ज्येष्ठ नागरिकलाई आग्रह गर्नुभयो।

यसैगरी, गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरणको कामसमेत सुरु गरेको छ। वडा नम्बर २ का वडासदस्य रमेश राईका अनुसार शुक्रबारसम्म १ हजार ६ सय ९८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ।

हाल गाउँमै तस्बिर खिचाएका व्यक्तिहरूको परिचयपत्र मात्र वितरण भइरहेको छ। परिचयपत्र लिन सम्बन्धित व्यक्ति अनिवार्य रूपमा वडा कार्यालयमा उपस्थित हुनुपर्ने राईले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय