इलामः परम्परागत रीतिरिवाजको संरक्षण गर्दै विद्यालयका लागि शैक्षिक सामग्री व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ।
सूर्योदय नगरपालिका–१, मंगलबारेस्थित श्री सिंहदेवी माध्यमिक विद्यालयले मंगलबार सांस्कृतिक कार्यक्रम आयोजना गरी देउसी भैलोको आयव्यय सार्वजनिक गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा देउसी भैलो कार्यक्रमका संयोजक सुमन राईले सार्वजनिक गरेको विवरणअनुसार देउसी भैलोबाट ४ लाख ४२ हजार ५ सय २८ रुपैयाँ आम्दानी भएको थियो। विभिन्न शीर्षकमा ९३ हजार १ सय १४ रुपैयाँ खर्च कटाउँदा ३ लाख ४९ हजार ४ सय १४ रुपैयाँ बचत भएको छ।
परम्पराको संरक्षणसँगै संकलित रकमबाट विद्यालयका लागि आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले देउसी भैलो आयोजना गरिएको शिक्षक छविलाल ढकालले बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक महादेव भट्टले शैक्षिक गुणस्तर सुधारका लागि नियमित पठनपाठनमा जोड दिइएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक विकाससँगै गुणस्तरीय शैक्षिक नतिजा हासिल गर्न विद्यालय केन्द्रित रहेको जानकारी दिनुभयो।
गणित विषयका शिक्षक होम पनेरुले यस वर्षको एसईई परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने गरी तयारी गरिरहेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन राईले विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक उपकरण खरिदका लागि तीनै तहका सरकारबाट आवश्यक बजेटको अपेक्षा गरिएको बताउनुभयो।
विद्यालय क्याप्टेन फोटेन शेर्पाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले विद्यार्थीलाई सहभागी गराउँदै आएको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीहरू नृत्य, गायन, वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगितालगायतका गतिविधिमा सहभागी हुँदै पुरस्कारसमेत जित्ने गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राजकुमार शेरेङले विद्यालयले आन्तरिक स्रोत र पहलबाट उदाहरणीय अभ्यास गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले वडा समितिका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
विद्यालयले आयोजना गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक छविलाल ढकालले गर्नुभएको थियो।
विद्यार्थी तथा शिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । कलाकार प्रबिन गजमेरले गीत गाएर मनोरञ्जन गराएका थिए । विभिन्न वक्ताहरुले विद्यालयलाई शुभकामना दिए ।

