इलामः पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासंघले इलामसहित देशभर विरोध प्रदर्शन गरेको छ। पत्रकार महासंघले बुधबार देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड,प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास लगायतकाविरुद्ध पत्रकार महासंघले देशभरका प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
यसैक्रममा पत्रकार महासंघ इलाम शाखाले चोकबजारबाट जिल्ला प्रशासन कार्यालय बाहिरसम्म विभिन्न नारा सहित आन्दोलन गरेको छ भने प्रशासनको प्रांगणमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’भन्ने व्यानरसहित प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईले २०७२ को संविधान नै संकटमा पुगेको भन्दै पहिले संविधानको रक्षा गर्नुपर्ने अवस्था आएको बताए । उनले संविधान बचे मात्र प्रेस स्वतन्त्रता रहने भएकाले पत्रकारहरुले संविधान रक्षाका लागी एकताबद्ध बन्ने बेला आएको बताए । अध्यक्ष चापागाईले सरकारले अध्यादेश फिर्ता नलिएसम्म,कानुन निर्माणमा हस्तक्षेप कायम रहेसम्म र धरपकड गर्ने दोषीमाथि कारबाही नभएसम्म महासंघको आन्दोलन जारी रहने बताए ।
समाचार लेखेका आधारमा प्रहरी हस्तक्षेप हुने,साइबर ब्युरोमा स्रोत खुलाउन दबाब दिने,दैनिक रूपमा पत्रकार पक्राउ गर्ने तथा न्युजरुमभित्र पसेर पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै उनले पत्रकारलाई कमजोर बनाएर लोकतन्त्र मास्ने खेल भईरहेको बताए ।
उनले दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै मिडिया काउन्सिलऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन र सरोकारवालासँग छलफल गरी संसद्बबाटै कानुन ल्याउन माग गरेका छन् ।
त्यस्तै इलाम शाखाका पूर्व अध्यक्ष सोमनाथ सुसेलीले कठोर आन्दोलन गरी जोगाएको प्रेस स्वतन्त्रता कसैको दम्भले ढाल्न नसक्ने चेतावनी दिए । सरकारको धाकधम्की र रवैयाले सीमा नाघ्न सुरु गरेको भन्दै पत्रकार महासंघको आन्दोल अझ शसक्त र प्रभावकारी बन्दै निर्णायक बन्नुपर्ने धारणा राखेका छन् ।
महासंघले मंसिर २ गतेदेखि ९ गतेसम्म आन्दोलनको कार्यक्रम तय गरेको थियो । माग पुरा नभए आन्दोलनको अर्को कार्यक्रम सार्वजनिक गर्ने पत्रकार महासंघ केन्द्रीय समितिले जनाएको छ ।


