‘प्रथम सूर्योदय चिया महोत्सव’ सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८३ मंसिर ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको कन्याममा दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव’ सम्पन्न भएको छ । चिया पर्यटन प्रवर्द्धन गर्ने तथा सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको हो ।

कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको साझेदारीमा सूर्योदय नगरपालिकाले आयोजना गरेको महोत्सवको पहिलो दिन राई, नेवार, तामाङ, लाप्चालगायत जातजातिको मौलिक झाँकी प्रदर्शन, पञ्चेबाजा प्रदर्शन, लाप्चा जातिको भेषभूषा प्रदर्शन, आदिवासी जनजातिको विभिन्न खानाका परिकार प्रदर्शन, सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन भएका विभिन्न ब्राण्डका चियाको स्वाद परीक्षण र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए भने १२ वटाभन्दा बढी स्टल थिए ।

महोत्सवको दोस्रो दिन आइतबार बिहान पुरुष र महिलातर्फ छुट्टाछुट्टै ‘टि ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गरियो । पुरुषतर्फ कन्याम चिया बगानको पदर्मागमा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन भयो । प्रतियोगितामा ११० जनाको सहभागिता थियो ।

पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार प्राप्त गरेको महोत्सव आोजक समितिका सचिव खेम राईले बताए ।

आइतबार दिउँसो ‘जलवायु परिवर्तनको सामनाः दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद भयो । अन्तरसंवादमा प्रतिनिधिसभा सदस्य निश्कल राई, सङ्घीय सरकारको पर्यटन सचिव मुकुन्दप्रसाल निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालको सहभागिता थियो । अन्तरसंवादको सहजीकरण पत्रकार उमाकान्त खनालले गरे।

त्यस्तै लाप्चासहित विभिन्न जातजातिको मौलिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन, खानाका परिकार प्रदर्शन, चियाको स्वाद परीक्षण र सांस्कृतिक कार्यक्रम दोस्रो दिन पनि सञ्चालन भएको थियो ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामबाट वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय