
मनोज अधिकारी
इलामः देउमाई नगरपालिका–९ जितपुरकी ८६ बर्षीया खडीमाया न्यौपानेलाई वि.सं २०७२ सालमा डाक्टरले भगवान भरोसा भन्दै अस्पतालबाट घर फर्कायो । ‘मुटुले १५ प्रतिशत मात्रै काम गर्छ भनेपछि घर ल्यायौँ । आजसम्म आमा भन्न पाएका छौँ ।’ उहाँका नाती दिवाकर न्यौपानेले भन्नुभयो, ‘आमा रोगी हुनुहुन्छ । हिँडडुल गर्न सक्नुहुन्न ।’
खडीमायालाई बुधबार दिउँसो परिवारले स्ट्रेचरमा बोकेर वडा कार्यालयसम्म पुर्याए । वडासम्म पुग्ने सडक छ । सवारीसाधन पनि चल्छन् । तर, उहाँलाई गाडी चढ्दा बिसन्चो हुन्छ । आपतपर्दा स्ट्रेचरमा बोकेर अस्पताल लैजानु त स्वभाविक हो । तर, अशक्त वृद्धालाई स्ट्रेचरमा बोकेर वडा कार्यालय पुर्याउनु पर्ने के त्यस्तो बाध्यता आईलाग्यो होला?



वृद्धवृद्धालाई सरकारले भत्ता दिन्छ । कतिपयले त्यही भत्ताले गुजारा चलाउँछन् । वृद्धभत्ता नविकरण गर्नुपर्छ । वडा कार्यालयले नबिकरण गर्न बायोमेट्रिक गर्नुपर्ने भन्दै वडाकार्यालयमा बोलाएपछि खडीमायालाई स्ट्रेचरमा बोकेर वडासम्म पुर्याउनुपरेको उहाँकी बुहारी कल्पना खनाल(न्यौपाने)ले बताउनुभयोे । ‘हामीले आमा शअक्त हुनुहुन्छ । ल्याउन सकिँदैन । प्राविधिक सहयोग गरेर यतै गरिदिनुन भन्यौँ । नगरपालिकाको पञ्जिकरण शाखाले पनि मानेन । वडाले पनि अर्को व्यवस्था नहुन्जेल वडामै आउनुपर्छ भन्नुभयो ।’ बुहारी कल्पनाले भन्नुभयो ।
देउमाई–९ का वडाध्यक्ष याम लिम्बूले घरमै गएर बायोमेट्रिक गर्ने निर्णय नभएकाले वडामा आउनु परेको स्विकार गर्नुभयो । ‘हाम्रोमा मात्रै होइन देशभरिका अधिकांश ठाउँमा यस्तै समस्या छ । यहाँ पनि उहाँ जस्ता धेरै अशक्त हुनुहुन्छ । नगरपालिकाका प्रमुख ज्यू सँग बसेर के गर्न सकिन्छ अब छलफल गर्छौँ ।’ वडाध्यक्ष लिम्बूले भन्नुभयो । खरिमायाका दुई छोरा छन् । जेठो छोरा रुपेन्द्र प्रसाद न्यौपाने सोही नगरपालिकाको शिक्षा शाखा प्रमुख हुनुहुन्छ भने कान्छा छोरा सूर्य न्यौपाने फाकफोकथुम गाउँपालिकामा कार्यरत हुनुहुन्छ ।
खडीमाया मात्र होइन । यहाँका थुप्रै ज्येष्ठ नागरिकहरु गर्मी र थकान सहेरै लौराको सहारामा वडा कार्यालअघि लाइनमा उभिएका हुन्छन् । सरकारले सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा पनि सेवाग्राहीको भीड लाग्ने गरेको छ । त्यहाँ सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिकहरूको भिड लाग्ने गरेको हो । सवारी साधनको सुविधा नभएका पहाडी बासिन्दा ज्येष्ठ नागरिकहरू घण्टौं हिँडेर वडा कार्यालय र प्रशासन कार्यालय पुग्नुपरेको छ ।