राष्ट्रपति शिल्डको प्रभावः इलामका ग्रामिण युवामा खेलप्रतिको क्रेज चुलियो

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलाम,०३जेठः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको माध्यमबाट इलामले खेलकुद क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ । बिराटनगरमा आईतबार सम्पन्न कोशी प्रदेशस्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इलामले २२ पदक जित्दै ११ जिल्लामध्ये तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा मोरङ ४६ पदकसहित प्रथम र झापा ४४ पदकसहित दोस्रो भएका थिए । इलामले ६ स्वर्ण, ४ रजत र १२ कास्य पदक जित्दै गत वर्षको नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको हो ।

जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले ग्रामिणस्तरसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पु¥याइएकै कारण यो सफलता सम्भव भएको बताउनुभयो । ‘पालिकाहरूले अहिले प्रतियोगिताका लागि बार्षिक बजेट छुट्याउन थालेका छन्, जसले प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गरेको छ ।’ उहाँले भन्नुभयो ।

दुई वर्षअघिसम्म ११ औं स्थानमा सीमित रहेको इलामले पछिल्लो तीन वर्षयता खेलकुद पूर्वाधार, प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा ध्यान केन्द्रित गर्दै आएको छ । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईका अनुसार, खेलकुदको पूर्वाधार विकासमा पनि तीव्रता दिइएको छ । हालै मात्र जिल्ला खेलकुद विकास समितिको भवन टुंडीखेल छेउमा निर्माण सम्पन्न हुन लागेको छ ।

समितिको नेतृत्वमा बाँस्तोला आएपछि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई ग्रामिण तहसम्म पु–याउने रणनीति अवलम्बन गरिएको हो । यसैको परिणामस्वरूप इलामको सूर्योदय नगरपालिकामा स्वदेशी तथा विदेशी ओलम्पियन खेलाडीहरूको सहभागितामा ओलम्पियन मिट कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

यस वर्षको प्रदेशस्तरीय प्रतियोगिताबाट इलामका ६ खेलाडी राष्ट्रियस्तरको छनोटमा परेका छन् । तेक्वान्दोमा दिभिना कार्की र सोनिम भट्टराई, उसुमा सुनिथी राई, रितिका राई र दिप्सन नेम्वाङ तथा ३,००० मिटर दौडमा पुष्पा शेर्मा लिम्बु छनोटमा परेका छन् ।

गाउँ–गाउँमा आयोजना हुन थालेका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण इलाममा खेलकुदप्रतिको रुचि बढ्दो क्रममा रहेको अध्यक्ष बाँस्तोलाले बताउनुभयो । ‘खेलाडी उत्पादनमै आधारित प्रतियोगिता अहिले जिल्लाको गौरव बन्दै गएको छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय