भूमिहीनलाई लालपुर्जा बाँड्दै आयोग

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः वर्षौँदेखि भूमिहीन रूपमा बस्दै आएका इलामको चुलाचुली गाउँपालिकाका स्थानीयवासीले अन्ततः आफ्नो नाममा जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगको सक्रिय पहलमा बुधबार ३१ परिवारलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरिँदा गाउँ नै उत्सवमय देखिएको थियो ।

इलामको चुलाचुली गाउँपालिका–५ का ६५ वर्षीय भक्तबहादुर फागो बुधबार गाउँपालिकाको कार्यालय परिसरमा हातमा लालपुर्जा समातेका थिए । जन्मदेखि नै भूमिहीन रहेका फागो ६ दशक पार गरेपछि पहिलो पटक आफ्नो नाममा कानुनी जग्गा प्राप्त गर्न सफल भएका हुन् ।

‘वर्षौँदेखिको पर्खाइ बल्ल सकिएको छ,’ भक्तबहादुरले उल्लासित हुँदै भने, ‘हामीजस्ता गरिबका लागि लालपुर्जा केवल सपना थियो, आज त्यो साकार भएको छ ।’

भूमि समस्या समाधान आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गर्दै वडा नं। २, ४ र ५ का ३१ परिवारलाई ५४ कित्ता जग्गाको लालपुर्जा वितरण गरेको हो ।

चुलाचुली–२ की ६२ वर्षीया पदमकुमारी राईले पहिलोपटक आफ्नो नाममा पुर्जा पाएपछि जीवनमा नयाँ आशा पलाएको बताइन् । त्यस्तै, निरमाया तामाङले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी प्रमाणपत्र पाएपछि अब कसैले कब्जा गर्न नसक्ने भनाइ राखिन् ।

लालपुर्जा वितरण कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

आयोगका अध्यक्ष प्रकाश अधिकारीले चुलाचुलीमा ६२० जनाको नापजाँच तथा प्रमाणीकरणको काम जारी रहेको र बाँकी भूमिहीनलाई क्रमिक रूपमा पुर्जा वितरण गरिने जानकारी दिए ।

यसअघि मङ्गलबार रोङ गाउँपालिका–१ का ७२ जनालाई पनि पुर्जा वितरण गरिसकेको आयोगले देशभर लालपुर्जा वितरण प्रक्रिया तीव्र बनाएको छ ।

आयोगका केन्द्रीय अध्यक्ष रिजालले आगामी दुई वर्षभित्र सम्पूर्ण भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरी कानुनीरूपमा जग्गाको अधिकार दिने लक्ष्य रहेको बताए । इलाम जिल्लामा मात्रै २२ हजार २४० निवेदन दर्ता भएका छन्, जसमा २१० भूमिहीन दलित, ९१० सुकुम्बासी तथा २१ हजार १३० अव्यवस्थित बसोबासी छन् ।

भूमि समस्या समाधान आयोगको यो पहलले वर्षौँदेखि उपेक्षित र भूमिविहीन समुदायको जीवनमा कानुनी अधिकार र आत्मसम्मानको उज्यालो ल्याएको छ ।

त्यसैगरी मंगलबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गरिएको छ ।

वर्षैदेखि बसोबास गर्दै आएका शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीलाई मङ्गलबार जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए । khabarhub

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय