मनोज अधिकारी
२४ फागुन, इलामः नेकपा (एमाले)का केन्द्रीय सदस्य सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। संविधानसभा अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको २०८० भदौ २७ गते निधन भएपछि रिक्त भएको सो क्षेत्रको सांसद पदका लागि २०८२ वैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट पहिलो पटक संसद प्रवेश गरेका सुहाङले त्यसबेला नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेका थिए।
त्यसपछि भएको यसपटकको निर्वाचनमा पनि उनले मतदाताको भरोसा कायम राख्दै कांग्रेसका भेषराज आचार्यलाई सात हजार सात सय ७१ मतान्तरले पछि पार्दै पुनः विजयी भएका हुन्।



वि।सं। २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङ नेम्वाङ संविधानसभा अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोरा हुन्। बाल्यकालदेखि नै शिक्षा र अनुशासनमा जोड दिँदै हुर्किएका उनले काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट नर्सरीदेखि अध्ययन सुरु गरी जगत मन्दिर विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ पूरा गरेपछि उनी केही समय अष्ट्रेलिया पनि पुगे।
तर कानुन अध्ययनको लक्ष्यसहित उनी पुनः नेपाल फर्किए। काठमाडौं स्कूल अफ ल’ बाट बीएएलएलबी अध्ययन सुरु गरेका उनले सोही विषयमा एलएलएमसम्मको पढाइ पूरा गरेका छन्।
राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किए पनि सुहाङले खेलकुद क्षेत्रसँग पनि आफ्नो सम्बन्ध जोड्ने प्रयास गरेका छन्। बुवा सुवासचन्द्र नेम्वाङको सुझावअनुसार उनले ‘मेची डी स्पोर्टिङ क्लब’ स्थापना गरेका थिए। खेलकुद विकासमा लाग्नुपर्ने प्रेरणा आफूलाई सधैं बुवाबाट नै मिलेको उनी बताउँछन्।
निर्वाचनमा विजयी भएपछि सुहाङले प्रतिस्पर्धामा रहेका सबै उम्मेद्वारले उठाएका मुद्दालाई इलामका साझा मुद्दा मान्दै समाधानका लागि सहकार्य गर्न चाहेको बताएका छन्। सबै उम्मेद्वारसँग बसेर उनीहरूले उठाएका विषय कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने इच्छा पनि उनले व्यक्त गरेका छन्।
उनका अनुसार इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको उचित बजारीकरण प्रमुख चुनौतीका रूपमा देखिएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा पनि अझै काम गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। निर्वाचनका क्रममा क्षेत्रका ४२ वटै वडा पुग्दा स्थानीयका अनेक अपेक्षा र समस्या नजिकबाट देख्न पाएको उनको अनुभव छ।
“भोट दिँदै गर्दा यहाँका बुबा–आमा, दाजुभाइ–दिदीबहिनीले झारेको आँसुको ऋण तिर्न अब इलामबाट टाढा जान सक्दिनँ,” उनले भनेका छन्, “नीति निर्माणका लागि काठमाडौंमा रहनु परे पनि मेरो अधिकांश समय इलाम र यहाँका नागरिकसँगै रहनेछ।”
इलामलाई आफ्नो परिवारजस्तै महसुस भएको बताउँदै उनी भन्छन्, “बुबाले जसरी इलामलाई एउटै मालामा गाँस्ने प्रयास गर्नुभयो, अहिले म पनि त्यही भावनासहित काम गर्न चाहन्छु।”
यस निर्वाचनमा आफूलाई विश्वास गरेर जिताउने मतदाता, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग, पार्टी पंक्ति र सञ्चारकर्मीप्रति उनले आभार व्यक्त गरेका छन्।
इलाम–२ मा एक लाख १९ हजार ४८९ मतदाता रहेका छन्। निर्वाचनमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए। उक्त क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेद्वार प्रतिस्पर्धामा थिए।

