
इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो। प्राय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो। स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बस्न लागेको हो।
गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो। भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमससी०, अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो। यसैबीच नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने भएको छ। यसअघि दुई अध्यक्षबीच लामो समय चलेको विवाद समाधानका क्रममा संघीय सरकारका मन्त्री, तथा सन्तोषजनक काम गर्न नसकेका मुख्यमन्त्रीको फेरबदलसम्मको विषय उठेकाले आजको सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने ठानिएको छ। थाहाखबरबाट


