एमाले महाधिवेशन कमिटी बैठक बस्दै, जिल्लामा नयाँ इञ्‍चार्ज तोक्ने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेकपा एमालेको अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक आह्वान गरेका छन्। पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष ओलीले बैठक डाकेका हुन्‌।

आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्ने तथा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको भट्टराईले बताए।

जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने पनि बैठकको एजेण्डा बनाइएको छ। उप(निर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ।

ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना नै महाधिवेशन तयारीबारे पनि छलफल गर्ने एजेण्डा बनाएको छ।

यस्तै, आजको बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ। ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए।

उनीहरूका कारण नेकपा माओवादी केन्द्रका नेता एवम्‌ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए। बुढा, शाही र थापालाई शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो। लगत्तै, उनीहरूको सांसद पद खारेजीका लागि केन्द्रमा सिफारिस पठाएको थियो।

उनीहरू तीन जनाले आइतबार मन्त्री पदको सपथ लिइसकेका छन्।

बैठक रोक्न नेपाल पक्षको आग्रह

बैठकमा खनाल( नेपाल पक्ष भने सहभागी नहुने निश्चित जस्तै छ। एकता अभियान चलाइरहेका वामदेव गौतमले के गर्ने हुन् टुंगो छैन।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। आइतबार एक अपिल सार्वजनिक गर्दै बोहराले आजका लागि ओलीले बोलाएको बैठकले स्थितिलाई थप असहज बनाउने भन्दै रोक्न माग गरेका बेला अध्यक्ष ओलीले यो बैठक बोलाएका छन्।

नेता बोहोराले उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन भन्दै पार्टीलाई पुनः एकताबद्ध बनाउन फागुन २८ को निर्णय अविलम्ब फिर्ता लिन र विधि विपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन अध्यक्ष ओलीसँग आग्रह गरेका छन्। विधानको व्यवस्था बमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठक तत्काल बोलाउन पनि उनले आग्रह गरेका छन्।

२०७५ साल जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा ओलीले त्यसो नगरेको र एउटा पक्षमात्र सामेल भएर फागुन २८ गते निर्णय गरेको उल्लेख गरेका छन्। त्यो बैठकमा ओलीले नेपाल(खनाल पक्षलाई सूचना नै नदिएको र त्यसले परिस्थिति झन बिगारेको बोहराको तर्क छ।

आधिकारिकता दाबी गर्दै नेपाल पक्ष आयोगमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ।

नेपाल पक्षीका नेता डाक्टर बेदुराम भुसाल र राजेन्द्र पाण्डेले आइतबार निर्वाचन आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रकृया अघि बढाउन लिखित निवेदन दिएका छन्।

पार्टीका स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर लिखित निवेदन दर्ता गराएका हुन्। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्यूँतिएपछि २८ फागुन र चैत ७ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको सबै निर्णय बदर गरी आफूहरूलाई आधिकारिकता दिन माग गर्दै आयोग गएको नेपाल पक्षले जनाएको छ।

अध्यक्ष ओलीले विधानविपरीत महाधिवेशन आयोजक समिति गठन गरेका, आफू र महासचिवबाहेक निर्वाचित पदाधिकारी हटाएकालगायतका सबै निर्णय देशको संविधान र पार्टीको विधान अनुसार नभएको ठहर गर्दै नेपाल पक्षले निवेदन दर्ता गराएको हो।

०७१ सालमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट निर्वाचित ८८ जना केन्द्रीय सदस्यको तर्फबाट निवेदन दर्ता गराएको नेपाल पक्षको भनाइ छ। माधव नेपाल पक्ष चैत १ गते पनि फागुन २८ को निर्णय बदर गर्न माग गर्दै आयोग पुगेको थियो। from thahakhabar.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय