निखिलसँग ५० लाख नलिएको भन्दै समझदारीमा अलग भएको कोपिलाको भनाई

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अभिनेता निखिल उप्रेतीले आफ्नी जेठी श्रीमती कोपिला उप्रेतीसँग साउन महिनामा कानूनी रुपमा अलग हुने निर्णय गरे । तर, १३ वर्षदेखि नै निखिल र कोपिला छुट्टाछुट्टै बस्दै आएका थिए ।

विशेषगरी अभिनेत्री सञ्चिता लुइँटेलसँग निखिल मुम्बई लागेपछि कोपिलासँग उनको सम्बन्धमा चिसोपना आएको थियो । निखिलले सञ्चितासँग दोस्रो विवाह गरे । मुम्बईमा करिब पाँच वर्ष बसेपछि निखिल र सञ्चिता नेपाल आएका थिए ।

निखिल र सञ्चिता वैवाहिक जीवनमा बाँधिएर एकसाथ बसेपनि निखिलकी जेठी पत्नी कोपिला उप्रेतीले भने उनीमाथि बहुविवाहको मुद्दा दायर गरिनन् ।

करिब १३ वर्षपछि भने निखिल र कोपिला कानूनी रुपमा नै अलग भएका छन् । अलग हुँदा निखिलले कोपिलालाई ५० लाख रुपैयाँ दिएको भन्ने खबर पनि सार्वजनिक भएको थियो । तर कोपिलाले भने यो सत्य नभएको बताएकी छन् । उनले भनिन्, ‘५० लाख लिएको कुरा एकदमै गलत हो । निखिलजीलाई दुवैतिरको बोझ नपरोस् भनेर नै मैले कानूनी रुपमा अलग हुने निर्णय गरेकी हुँ । हामीले समझदारीमा नै डिभोर्स गरेका हौं । मलाई निखिलजीप्रति कुनै गुनासो नै छैन । उहाँले मलाई कहिले पनि नराम्रो गर्नुभएन ।’

निखिलले १५ वर्षअघि भक्तपुरमा किनेको घर कोपिलाको नाममा नै थियो । यसैले डिभोर्सपछि निखिलले घर पनि छाडेको भन्ने विषयमा प्रश्न नै नउठ्ने कोपिला बताउँछिन् । ‘निखिलजीले छोराका लागि मासिक ५० हजार दिइरहनुभएको छ । छोराको सम्पूर्ण लालनपालन पनि उहाँले नै हेर्दै आउनुभएको छ,’ उनले भनिन् ।

कोपिलाले आफूहरुबीच अलिे पनि सम्बन्ध राम्रो रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो अहिले पनि सम्बन्ध राम्रो छ । डिभोर्स गर्ने बित्तिकै मानिसको सम्बन्ध पूर्ण रुपमा सकिन्छ भन्ने होइन । हामी केही समय अगाडि जेठाजुको छोराको बिहेमा पनि परिवार साथै गएका थियौं ।’

कोपिलाले निखिललाई आफूले सधैं माया गरेको र अझै पनि गर्ने बताइन् । २०५८ सालमा निक्कै कष्टका साथ निखिलसँग विवाह गरेको सम्झिँदै कोपिला भन्छिन्, ‘मैले निखिलजीकै सुविधाका लागि यो निर्णय गरेकी हुँ । १३ वर्षदेखि अलग रुपमा बसेपनि मैले आज आएर मात्र यो निर्णय लिएकी छु । किनकि निखिलजीलाई पनि दुवैतिरको परिवार हेर्नुपर्दा बोझ बढी भयो । उहाँको पनि आफ्नो जीवन छ, करिअर छ । त्यसैले यी सबै कुरा सोचेर मैले समझदारीमा अलग हुने निर्णय गरें ।’अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय