एमाले जिल्ला अधिवेशनः इलामका ८१ वडामै छनौट भए प्रतिनिधि, तयारी तिब्र

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामःआगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले इलामले बिहीबार जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गरेको छ । सबै वडामा सर्वसम्मत ढंगबाट प्रतिनिधि छनौट सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले बताए । एमालेले १५ हजार २ सय ६५ पार्टी सदस्यबाट अधिवेशन प्रतिनिधि छनौट गरेको हो ।

प्रतिनिधि मध्ये इलाम नगरपालिकामा मात्रै १२ वटा वडा र छ वटा इलाकाबाट १२३ जना प्रतिनिधि छनौट भएका छन् । अन्य नगरपालिका र गाउँपालिकाबाट भने प्रतिनिधिको सम्पूर्ण विवरण आइ नसकेको प्रचार विभाग प्रमुख अधिकारीले बताए । ‘सबै पालिका र वडाबाट फारम भरेर पठाउनु पर्ने हुँदा समय लाग्ने अवस्था छ । पार्टी सदस्यताको संख्यालाई यकिन गर्दा करिब ७ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने अवस्था देखियो ।’ अधिकारीले भने ।

एमाले जिल्ला कमिटीले यसअघि ४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको थियो । त्यसै अनुसार जिल्लाका ८१ वटै वडाबाट प्रतिनिधि छनौट भएका हुन् । प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्नेछ ।

एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव सहितको १०५ सदस्य जिल्ला कमिटी रहने छ । निर्वाचित समितिमा महिला तर्फ समावेशी ढंगले ३५ जना महिला रहने छन् । निर्वाचित जिल्ला कमिटीले अन्य दलबाट आएका सदस्यहरुलाई माथिल्लो कमिटीको स्वीकृतिमा १० प्रतिशत मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको एमालेले जनाएको छ ।

प्रतिनिधि छनौट पछि अविधेशनको तयारीको काम हुने प्रचार विभाग प्रमुख अधिकारीले बताए। एमालेले अधिवेशनका लागि अलग–अलग राजीनितिक प्रतिवेशन र सांगठनिक प्रतिवेदन बनाउने छ । यस्तै अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्वास्थ्य तथा आकस्मिक सेवा समिति लगायतका सबै समितिहरुले आ–आफ्ना जिम्मेवारीका काम थालेको बताइएको छ ।

एमालेले गौतम वुद्ध सभागृहमा अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय