मनोज अधिकारी,फिक्कलः इलामको सूर्योदय नगरपालिकाले कृषकलाई मोटर सहितको च्यापकटर वितरण गरेको छ । “कृषक संग समृद्धि अभियान” अन्तर्गत नगरले ४ बर्षको अवधिमा २५२ थान च्याप कटर वितरण गरेको पशु सेवा शाखा प्रमुख विपिन सिंहले बताएका छन् ।
सूर्योदयमा जनप्रतिनिधि आएपछि किसानलाई घाँस काट्ने मेसिन वितरण शुरु गरिएको जनाउँदै सिंहले भने, “शुरुको दुई बर्षमा मोटर बिनाको ९८ थान र पछिल्लो दुई बर्षमा मोटर सहितको १६० थान गरि २५२ किसानलाई च्यापकटर मेसिन वितरण गरिएको हो ।”
पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा सूर्योदयले मेसिन उपलब्ध गराएको हो । पछिल्लो पटक गत आईतबार मात्र १४ वटै वडाका ७० किसानलाई वितरण गरिएको थियो । यो पटक एक वडाका ५ जनाका दरले कृषक लाभान्वित भएका छन् ।
सूर्योदय नगरपालिकाले किसानको पक्षमा थुप्रै काम गरेको भन्दै च्याप कटर वितरण कार्यक्रम प्रशंसायोग्य रहेको लाभान्वित किसानले बताए । ब्यवसाहिक पशुपालन गरि दुध बिक्री बाट नै आम्दानी गरिरहेका किसानका लागी यो कार्यक्रम प्रभावकारी रहेको पाईएको छ ।
डाला घाँसको सबै हाँका टुक्र्याएर बस्तुलाई दिँदा घाँसको मात्रा कम लाग्ने,समयको बचत हुने र मल समेत फुक्ने हुँदा अति नै उपयोगि रहेको सूर्योदय १ का किसान सुनिल कुमार शाहाले बताएका छन् ।
प्रति मेसिन २७ हजार भन्दा बढी मुल्यमा खरिद गरेर सबै किसानलाई एकैपटक वितरण गर्न समस्या भएपनि प्राथमिकताका अधारमा पहिचान गरि वितरण गरिएकोमा आफुहरु खुशि रहेको सूर्योदय ९ का अर्का किसान हिमाल खड्काले बताए ।
घाँस कै अभावमा एक माउ मात्र गाई पाल्नु परिरहेको समस्या सुनाउँदै मेसिन पाएपछि गाईको संख्या थपेर ब्यवसाहिक पशुपालन गर्ने तयारी रहेको ७ नं वडाका रमेश भट्टराई सुनाएका छन् ।
गाई पालक किसानलाई “सेक्स सिमेन”
सूर्योदय नगरपालिकाले तत्काल “सेक्स सिमेन” खरिद गरि किसानलाई उपलब्ध गराउने भएको छ । नगरपालिकाको तीन बर्षको प्रयास पछि युएस क्यानडाको उत्पादन रहेको “सेक्स सिमेन” प्राप्त गर्ने सुनिश्चित भएको नगरप्रमुख रण बहादुर राईले बताएका छन् । यहाँका किसानले पालन गरेका गाईमा कृतिम गर्भाधान गराउँदा सफल भएमा ९० प्रतिशत उन्नत जातका बाछी उत्पादन हुने राईले बताए ।
“सेक्स सिमेन” मार्फत उत्पादन भएको पहिलो बेदको गाईले कम्तीमा २२-२४ लिटर दुध दिने विश्वास गरिएको छ ।
साधारण सिमेनले भन्दा सेक्स सिमेनले कृतिमा गर्भाधान गराउँदा तुलनात्मक रुपमा कम संख्यामा गर्भ रहने जोखिम भने हुन सक्ने पशु सेवा शाखाका प्रमुख विपिन सिंहले जनाएका छन् । यस सम्बन्धि वृस्तित जानकारी वडा मार्फत गराईने नगरले जनाएको छ ।
तस्बिरः नगरप्रमुख राईको फेसबुक वालबाट