गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

इलामः फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती ९सरु० राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद छ। गत १८ गते भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन्।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाबीच १८ गते अपराह्न वार्ता भएको थियो। वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्को चरणको वार्ता गर्नेगरी बाहिरिएका थिए। अर्को चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले खड्कालाई अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। वार्तामा भएको विषयलाई झिकेर उपाध्यक्ष राईले खड्कालाई प्रहार गरेको स्थानीय दीपक योङहाङले जनाए।

आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी छिन्।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा असन्तुष्ट भएका हुन्।

कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। आवेदकमध्येका साढे ३ सय युवाले कोरिया जान मेडिकल जाँचसमेत गराइसकेका छन्। जनप्रतिनिधिले कामदार छनोट पारदर्शी नबनाई आफूखुसी गरेको असन्तुष्ट युवाको आरोप छ।

आक्रोशित युवाले चैत ४ गते गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै विरोध जनाएका थिए। नाराबाजीपछि चैत ७ गते वार्ता गर्ने सहमति भएको थियो। सहमतिअनुसार चैत ७ मा वार्ता हुन नसकेपछि उनीहरूले कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका थिए। तर, सिडिओ माधवप्रसाद ढुंगानाले अध्यक्षलाई जिल्ला प्रशासनमै बोलाएर छलफल गर्ने आश्वासन दिएपछि गाउँपालिकाको तालाबन्दी गत १३ गते खुलाइएको थियो। नागरिकदैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय