चियाको न्युनतम समर्थन मुल्य कायम गर्ने र कार्यविधि कार्यान्वयन गर्ने पहिलो कामः मेयर राई

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी, फिक्कलः इलामको सूर्योदय नगरपालिकामा नवनिर्वाचित मेयर रणबहादुर राईले चियाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विजय जुलुस पछि फिक्कल चोक बजारमा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख राईले आफ्नो पहिलो काम नै चियाको न्युनतम समर्थन मुल्य कायम गर्ने र चिया सम्बन्धि नगरपालिकाले निर्माण गरेको कार्यविधिको पुर्णतयाः कार्यन्वयन गराउने रहने प्रतिबद्धता व्यक्त गरेका हुन् । निर्वाचनताका चियाका सम्बन्धमा थुप्रै अफवाह फैलाईएको बताउँदै उनले किसानका घर(घरमा गएर चियाको समस्या पहिचान गर्ने र समाधान गर्दै पाँच बर्ष भित्रमा अन्तर्राष्ट्रिय बजारमा चिया निर्यातको राम्रो व्यवस्था गरिने बताए । उनले नगरपालिकामा सुसासन हुने बताउँदै पारदर्शी काम गर्ने र जनता प्रति उत्तरदायी हुने वचन दिएका छन् ।

नगरकार्यपालिकाले गरेका निर्णय समेत डिस्प्ले मार्फत सार्वजनिक गरिने बताउँदै राईले सुसासन को प्रत्याभुति हुने गरि कार्यसम्पादन गरिने दाबि गरे । उनले विपन्न परिवारका लागी स्वास्थ्य विमा र पाँच बर्षमा ५० बेडको अस्पताल तयार गरि सेवा सुचारु गरिने बताएका छन् ।कन्याममा निर्माणाधीन टी टेस्टीङ आफ्नो कार्यकालमा सफल हुने बताए । खानेपानीको समस्या समाधान गर्न छिमेकी पालिका माईजोगमाई संग समझदारी भैसकेकाले अब ६२ करोणको आयोजना सफल बनाउने जनाएका छन् । पर्यटन र कृषि आफ्नो प्राथमिकतामा रहेको भन्दै राईले टोल टोलमा गएर बोलेका कुरा सफल गर्ने प्रतिबद्धता व्यक्त गरे । कर्फोक माविलाई नमुना विद्यालय बनाउने बताएका राईले भने,‘डिजिटल प्रविधिमा फड्को मारिसक्यौँ, अब उच्च प्रविधिमा पाईला चाल्नेछौँ ।’ पशुपंक्षीमा लाग्ने खोरेत रोगको उपचार चाँडै हुने जनाउँदै उनले किसानका हितमा थुप्रै योजना आउने बताएका छन् । भृष्टाचारको विरूद्धमा उभिन नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्दै उनले नगरपालिकामा बनेका एेन, नियम र कार्यविधि अध्ययन गर्न समेत अपिल गरे ।

फरक प्रसंगमा उनले नेकपा एमालेबाट विद्रोह गरेको ७,८ महिनामा नै संगठन दरिलो बनेको बताएका छन् । अबको पाँच बर्षमा वडा सदस्य देखि १४ वटै वडाध्यक्ष र मेयर,उपमेयर नै नेकपा एसको आउने दाबि गरेका छन् । नेकपा एमालेलाई आफुहरूले हराएको उनको दाबि छ । मतपरिणाम प्रति भने उनि त्यति सन्तुष्ट देखिएनन् । आफुले प्राप्त गरेको मत सैद्दान्तिक रूपमा नेकपा एस बाट प्राप्त गरेको तर्फ संकेत गर्दै सार्वजनिक ठाउँमा नबोल्ने तर गठबन्धन भित्र समिक्षा हुनुपर्ने बताए ।नेकपा एसको मतदाताको विवरण देखाउने भन्दै राईले भने,‘कांग्रेसले फाउ मत दिएला भन्ने थियो तर त्यसो भएन ।’

प्रदेस १ संस्कृति तथा पर्यटन मन्त्रि खिनु लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एसका टोल देखी जिल्ला स्तरीय नेताकार्यकर्ताको सहभागिता थियो भने उल्लेख्य मात्रामा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय