सूर्योदयका ५ वडा बालमैत्री

द्वारा प्रकाशित गरिएको हो |
२०७९ असार २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलःइलामको सूर्योदय नगरपालिकाले ५ वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा गरेको छ । यसअगाडि ९ र १० वडालाई बालमैत्री बनाएको नगरले बिहिबार एक कार्यक्रमका बिच ६,७ र ८ वडालाई पनि बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा गरेको हो । कृष्णाश्रम मा.वि कन्याममा एक कार्यक्रमको आयोजना गरि घोषण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईले बालमैत्री नगरपालिका घोषणा भएसंगै नगरपालिकाले विनियोजन गर्ने बजेट मध्ये १० प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा खर्च गरिने बताएका छन् । दिर्घकालिन उपलब्धि लिन बालबालिकालाई लगानी गर्नुपर्ने बताउँदै उन्ले ५१ सुचक कार्यान्वयन गर्न शिक्षक, अभिभावक, जनप्रतिनिधि, बालबालिका एवं सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताएका‌ छन् । कुनैपनि कार्यक्रम गर्दा बाल सहभागिता अनिवार्य हुनुपर्ने बताएका उन्ले हरेक भौतिक विकास बालमैत्री बन्न जरुरी रहेको समेत जनाएका छन् । पछिल्लो समय धेरै बालबालिका विकृति र कुलतमा फसेको समस्या दर्शाउँदै मेयर राईले असल र इमान्दार हुन आग्रह गरेका छन् भने बालबालिकाले संधै सकारात्मक सोचलाई शिरोपण गर्नुपर्ने उल्लेख गरेका छन् ।

फरक प्रसंगमा राईले आफु मन्तव्य राख्ने र कार्यक्रम छोडेर बाहिरिने जनप्रतिनिधिप्रति इंकित गर्दै अरूको कुरा सुन्ने धैर्यता हुनुपर्ने बताए । आफु पटट बोल्ने, प्रश्न गर्ने अनि मेयरले जवाफ दिने समय अगावै कार्यक्रम छोडेर बाहिरिने प्रवृत्ति खराब रहेको भन्दै सचेत गराएका छन् ।

नगर उपप्रमुख दुर्गा कुमार बरालले आजका बालबालिका आंफैमा अनुशासित रहेको बताए । केही बालबालिका विकृतिमा फसेको पनि बताउँदै बरालले त्यता तर्फ निगरानी बडाउन अभिभावक र शिक्षकलाई आग्रह गरे ।

वडा नं ७ का वडाध्यक्ष लोक बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ६ का अध्यक्ष शिव कुमार बस्नेत र ८ का वडाध्यक्ष जंग गुरुङले शुभकामना मन्तव्य राखे । उनिहरुले वडालाई बालमैत्री बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै यसलाई दिर्घकालिन उपलब्धिका रूपमा लैजाने गरि सवै पक्ष जुट्नुपर्ने धारणा राखेका थिए ।

महिला बालबालिका तथा समाजकल्याण साखाकी प्रमुख तारा शेर्पाले लामो समयदेखि घोषणाको तयारी भएपनि कोरोना र निर्वाचनका कारण बाँकी रहेको बताईन । उनले नगरप्रमुख राईले बालबालिकालाई संधै प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरिन् । साखा प्रमुख शेर्पाले श्रावण २९ सम्ममा बालमैत्री नगर घोषणा भैसक्ने दाबी गरेकी छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकाको क्षेत्रमा सूर्योदय उदाहरण रहेको बताए । आफु थुप्रै पालिकामा पुग्ने गरेको र प्रायजसो उदाहरण सूर्योदयकै दिने गरेको बताए । बालमैत्री नगर घोषणा गर्न पुरा गनुपर्ने सुचक हाल ५१ वटा रहेको भन्दै यो चुनौती पुर्ण रहेको पनि उनले बताएका छन् । तर सूर्योदयको टिम जुझारु रहेकाले सम्भव भएको उनको बुझाई छ । आफ्नो सहयोग निरन्तर रहने पनि उनले बताएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलमणी गड्तौला, वाल क्लबकी अध्यक्ष रचना कार्की, नगर बाल सन्जाल समितिका उपाध्यक्ष निरज राई लगायतले मन्तव्य राखे । वाल क्लबकी अध्यक्ष रचना र बाल सन्जालका उपाध्यक्ष निरजले बालबालिकाको प्रतिभा विभिन्न माध्यमबाट बाहिर ल्याउन जरुरी रहेको बताए। उनिहरुले बालसन्जाल गठन भएयता प्राप्त उपलब्धि सम्बन्धमा जानकारी गराए। गायन, नृत्य, साहित्यिक सृजनामा बालबालिका अव्बल बन्दै गएको उल्लेख गरेका छन् ।

रचनाले भनिन रेडियो नाटक प्रसारण बाट जनचेतनामुलक सन्देश प्रवाह भएको छ यस्ता कार्यक्रम नियमित हुन आवश्यक रहेको उनको बुझाई छ ।

सूर्योदय नगरपालिका वडा नं ६,७ र ८आयोजना र महिला बालबालिका तथा समाजकल्याण साखाको समन्वयमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूले आफ्आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । भावना र मन्जिला गड्तौलाले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कृतन पौडेलले कविता, समिक्षा तामाङ र करन कटुवालले गित प्रस्तुत गरे । प्रतिभा प्रस्तुत गर्ने बालबालिकालाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । वडालाई बालमैत्री बनाउन विभिन्न माध्यमबाट सहयोग पुर्याउने महिला स्वयं सेविका तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा यसोदा देवी राई,नरमाया तामाङ,अनुपम पोखरेल, रचना कार्की, जेनी मगर लगायत रहेको छन् । कार्यक्रमको सञ्चालन बालबालिका शाखा सूर्योदयकी सरला तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय