
फिक्कलः चाडपर्व नजिकिएसंगै इलामको सूर्योदय नगरपालिकाले बजार अनुगमन थालनी गरेको छ । चाडपर्वको समयमा हुनसक्ने संभावित कालोबजारी तथा अखाद्य वस्तुको विक्री हुन नदिन नगरपालिकाले अनुगमन संगै कार्बाही शुरु गरेको हो । मंगलबार नगरले फिक्कल बजारबाट अनुगमन थालेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भद्रपुर र गुणस्तर तथा नापतौल कार्यालय,झापासंगको समन्वयमा नगरले पसल अनुगमन गर्दै आएको छ ।
नगरपालिकाको केन्द्र फिक्कल बजारबाट थालिएको अनुगमन कार्य तीनघरे, पशुपतिनगर, हर्कटे लगायतका बजारमा समेत हुनेछ । फिक्कल बजारमा अनुगमनका क्रममा केही थोक पसल र डिपार्टमेन्टल पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला पारेर नियन्त्रण गरिएको छ ।
नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई सहितको टोलीले फिक्कल बजार अनुमगन गर्दै व्यपारीहरुलाई सचेत समेत गराएका थिए । म्याद गुज्रिएका सामाग्रीहरु नष्ट गरिने उपभोक्ता हित संरक्षण शाखा प्रमुख मदन गुरुङले जानकारी दिए । चाडबाड नजिकिएसंगै बजारमा छयाप्छयाप्ती अखाध्य र म्याद गुज्रिएका सामाग्रीहरु पाइने भएकाले बजार अनुगमन गरिएको जनाइएको छ ।



गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले पसलहरुमा ढक तराजुको नविकरणका बारेमा अनुगमन गरेका थिए । म्याद नलेखिएका चामल र भुजा लगायतका सामाग्रीहरु सम्बन्धित व्यपारीकै गोदाममा सिल समेत गरिएको छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी,सूर्योदय नगर उद्योग वाणिज्य सघका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको छ ।
सूर्योदय नगरपालिकाले २०७४ सालमा नै बजार अनुगमन निर्देशिका बनाएको थियो । सोही निर्देशिका अनुसार बजार अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले जानकारी दिए । अनुगमन आगामी ७ गतेसम्म जारी रहनेछ ।