
फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १ मा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरुका लागि पोषण सम्बन्धी शिक्षा प्रदान गरिएको कर्मचारी प्रकृति खतिवडाले जानकारी दिनुभएको छ । मंगलबार र बुधबार दुईदिन संचालित उक्त कार्यक्रम वडाको मंगलबारे र गोर्खे स्वास्थ्य चौकीमा आयोजना गरिएको थियो । कार्यक्रममा करिब ६० बराबर आमाहरु सहभागि थिए । गर्भवति भए देखि गणना गरि बच्चा २४ महिनाको पुगेका आमाहरुलाई सहभागिता गराई खानपिनमा पोषणका सम्बन्धमा जानकारी गराईएको थियो ।



विशेषगरि गर्भवति हुँदा र बालबच्चाले आमाको दुध खाने उमेरमा उनिहरुको स्वास्थ्य अवस्था आमाको खानपिनमा निर्भर हुने गर्छ । यो समयमा आमाले जति पोषिलो खान्छिन् बच्चा उति नै तन्दुरुस्त र स्वस्थिलो बन्ने गर्छ । तर ग्रामिण भेगका अधिकांश आमाहरु शारिरिक रुपमा परिश्रम हुने काम गरेपनि खानामा बेवास्था गर्नाले आमा र बच्चा दुबैलाई असर गर्ने गर्छ । कतिपयलाई यति सामान्य ज्ञान समेत हुँदैन भने कति चैँ पारिवारिक सामाजिक र आर्थिक अवस्थाका कारण समेत अन्जान जस्तै बनेका हुन्छन् । उनिहरुलाई गर्भवति बेलामा स्वास्थ्यमा ख्याल नगर्दा र पोषणयुक्त खाना नखादा कस्तो असर गर्छ भन्ने बिषय बुझाउन यो कार्यक्रम गरिएको कर्मचारी खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने गोर्खे स्वास्थ्य चौकीकी सि अन मी कल्पना राई र अ हे ब पुष्पा तामाङले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँहरुले सहभागिलाई पोषणयुक्त खानाको आवश्यकता र महत्वका सम्बन्धमा सहजिकरण गर्नुभएको हो । नगरपालिकाले अधिकांश वडामा यस खालका कार्यक्रम गर्दै आएको छ ।