
मनोज अधिकारी
फिक्कल,२३ कात्तिक, ः पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्ना योजना सुनाउन मतदाताको घर–घरमा पुगिरहनु भएको छ । इलाम क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेद्वार बन्नुभएका खनालसंग सडक देखि पर्यटन सम्मका १७ योजना छन् । अहिलेसम्म भएका कामको फेहरिस्त लिएर भावि रणनिती बुझाउन उहाँको दौडाहा गाउँघरमा छ ।
खनालको अपिलमा निर्वाचन क्षेत्रका सबै पालिका र वार्डमा कालोपत्रे पक्कि सडकको विकास गरिने उल्लेख छ । भारतीय सिमा संग जोडिएका पालिकाहरुमा सिमा मार्ग निर्माणको काम प्राथमिकतामा राखिने बताईएको छ । इलामका पर्यटकीय स्थलको संरक्षण र संवर्धन गरिने बताउँदै उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रलाई अत्याधुनिक ब्यवस्थापन गर्दै अझ सुन्दर र लाभकारी बनाईनेछ ।” शिक्षालाई निशुल्क बनाउने उहाँको उद्धेश्य छ । “सबैलाई शिक्षाको ग्यारेन्टि हुनेगरि उच्च शिक्षा अध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गर्ने छु ।”



चियाको उत्पादन वृद्धि गर्ने,स्थिर बजार खोज्ने, बजार विविधीकरण र चिया उद्योगलाई नेपालको राष्ट्रिय उद्योगका रुपमा विकास गर्ने खनालको अपिलमा उल्लेख छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा उत्पादन भएका फलफुल,अन्न,मासुजन्य तथा दुधजन्य पदार्थ ब्यवस्थापनका लागी कोल्डस्टोरको निर्माण गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । स्थानीय तहलाई अझ बडी अधिकार सम्पन्न बनाउदै लगिने खनालको भनाई छ ।
३ दशक देखि त्यस क्षेत्रका जनतासंग नजिकबाट परिचित खनालले गाउँघरमा न्यानो सत्कार पाईरहनुभएको छ । बालबच्चा देखि वृद्धमाझ हाँसेर बोल्ने खनालको स्वभाव गाउँलेका लागि प्यारो नै छ । सोचे जस्तो विकास गर्न नसकेको आरोप खेपिरहनुभएका खनालका लोभलाग्दा योजना पढेर मतदाता सकारात्मक देखिएका छन् ।
३१ बर्ष सूर्यमा भोट माग्नुभएका उहाँ यो पटक कलम चिन्हमा छाप लगाउन अपिल गरिरहनुभएको छ । स्थानीय तहको मतपरिणाम सोचेजस्तो नपाएपछि खनाल सो समय गठबन्धनप्रति असन्तुष्ट देखिनुभएको थियो । कांग्रेसले धोका दिएको उहाँका अभिब्यक्तीबाट रुष्ट कांग्रेस कार्यकर्ता लाई समेत खनालले फकाउनुभएको छ । उक्त अभिब्यक्ती विशेष परिस्थितीको उपज भएको बताउँदै खनालले भन्नुभयो, “राजनिती एकै तरिकाले अघि बड्दैन,मेरा बोलिबाट कांग्रेसका कुनै साथिलाई पिर परेको भए म बोलि फिर्ता लिन्छु । खोलामा धेरै पानि बगिसक्यो । पुराना कुरा बिर्सिएर अब गठबन्धन एकजुट बन्नुपर्छ ।”
वि स २०४८ सालयता भएका सबै संसदीय निर्वाचनमा उम्मेद्वार खनालले एउटा बाहेकका सबै निर्वान जित्नुभएको छ । उहाँ २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रशाईसंग पराजित हुनुभएको थियो । २०७४ को प्रतिनिधिसभा चुनावमा एमालेका तत्कालिन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई हराउनुभएको थियो । यसपटक नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत उहाँको मुख्य प्रतिस्पर्धि हुनुहुन्छ भने ४ दशक कांग्रेसको राजनिती गरेर पार्टी छोडेका विक्रम पान्डेको स्वतन्त्र उम्मेद्वारी पनि खनालको चुनावी तगारो जस्तै देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमक्ति पार्टी लगायतका एक दर्जन बडी उम्मेद्वार संगको प्रतिष्पर्धामा नेता खनाल हुनुहुन्छ । उहाँको निर्वाचन क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिका,माईजोगमाई गाउँपालिका,सन्दकपुर गाउँपालिका,रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७,८,९ बाहेक सबै वडां पर्दछन् । (रासस)