
मनोज अधिकारी
फिक्कल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पुरा भएको छ । २ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु परिचालित भएका हुन् । म्यादी प्रहरी सहित नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र राष्ट्रिय अनुशन्धान विभागका सुरक्षाकर्मीहरु एकीकृत सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभएको छ ।
“१० पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षा कर्मी परिचालन भैसकेका छन् ।” उहाँले भन्नुभयो, “ निर्वाचन सुरक्षाका सबै तयारी पुरा भैसके इलामा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामि ढुक्क छौँ”
आगामी निर्वाचनका लागी जिल्लाभर ५५० नेपाली सेना,४५४ शसस्त्र प्रहरी,७७५ नेपाल प्रहरी,एक हजार ४४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धानको टोली खटाईएको छ । निर्वाचनका दिन खटिने गरि चारवटा मोबाईल टोली बनाईएको छ । जिल्लामा प्रजिअ को नेतृत्वमा र निर्वाचन क्षेत्रमा उप–सिचव स्तरको कर्मचारीको नेतृत्वमा टोली परिचालित हुने प्रजिअ ढुङ्गानाले बताउनुभएको छ ।
केहिदिन अघि जिल्ला सुरक्षा समिति इलामले मतदान स्थलको अवस्था विश्लेषण गरेको थियो । सो अनुसार इलामका ३६ मतदान स्थललाई अति संवेदनशील रुपमा लिईएको छ । ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनि छुट्याईएको ढुङ्घानाले बताउनुभयो । “सुरक्षा अवस्था, भौगोलिक कठिनाई वा दुरी र मतदाताको पहुँच जस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौँ ।” उहाँले भन्नुभयो, “संवेदनशील भनेर छुट्याईए पनि सबै मतदान केन्द्रको सुरक्षा ब्यवस्था भने मजबुद बनाईएको छ ।”


