एमाले उपाध्यक्ष नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयीः संघीय संसदमा पाँचौ इन्ट्री

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल, १० मङ्सिर ः इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कालाई ११४ मतान्तरले पछि पार्दै उहाँ निर्वाचीत हुनुभएको हो । नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।

नेम्वाङ पाँचौ पटक संसदीय निर्वाचनमा विजयी बन्नुभएको हो । विसं २०५६ देखि लगातार चुनाव जित्दै आउनुभएका उहाँले गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार मतान्तरले पराजित गर्नुभएको थियो ।

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष हुनुभएका उहाँले गत निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गर्नुभएको थियो ।
नेम्वाङ्गले सबैखाले घेराबन्दीलाई पराजित गरेर आफ्नो दल विजयी भएको बताउनुभएको छ । उहाँले देश, जनता र एमालेको अभियानविरुद्धका घेराबन्दी पार गरेर आफ्नो दल विजयी भएको बताउनुभयो।

इलाम २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङ्गले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको अभियान निरन्तर रूपमा अघि बढाउने बताउनुभयो।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी थिए ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय