मनोज अधिकारी
फिक्कल,मसिर १५ः इलामको सूर्योदय नगरपालिका वडा नं १२ स्थित करफोक विद्यामन्दिर मा वि का छात्राहरु विरामी परेपछि विद्यालय बिदा गरिएको छ । कक्षा ८ देखि १२ सम्मका बहुसंख्यक छात्राहरुमा विगत चार दिन देखि अनौठा लक्षण देखापरेपछि शुक्रबार विद्यालय बिदा गरिएको प्रधानाध्यापक गणेश प्रसाद आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्यार्थीहरुमा छिटो श्वास प्रश्वास हुने, असहज ब्यवहार देखाउने,बेहोस हुन खोज्ने,खुट्टा बाउँडिने र शरीरमा पिडा हुने जस्ता समस्या आएपछि बाध्य भएर विद्यालय विदा गर्नुपरेको हो ।
“विशेषगरि महिनावारी भएका छात्राहरुमा यो समस्या देखिएको छ ।” उहाँले भन्नुभयो,“गएको चार दिन देखि शुरुमा कोही एकजनाको अनुहार अस्वभाविक परिवर्तन हुन्छ । उसमा अप्रत्यासित बल आउँछ । अनौठा लक्षण देखाएर बेहोस जस्तै हुन्छ । अर्को साथी सम्हाल्न जाँदा उ समेत विरामी पर्छ । यसरी सामुहिक रुममा धेरैजना विरामी पर्न थालेर धेरै दिन बितेपछि शुक्रबार एकदिनलाई विद्यालय बिदा गर्न बाध्य भएका हौँ । कसैलाई आधा घन्टामा निको हुन्छ भने कसैलाई २ घन्टासम्म समस्या भैरहन्छ ।”



खास समस्या पहिचान गर्न बाँकी रहेपनि यस्ता समस्याको चिकित्सकिय उपचार कम हुने गरेको पाईएको छ । बरु उनिहरुमा मनोपरार्शदाता मार्फत काउन्सिलि दिएर समाधान खोजिने गरिएको छ । लगातार समस्या भएपछि विद्यालयले सूर्योदय नगरपालिका बालबालिका शाखालाई खबर गर्यो । शाखाले दुई सदसिय परामर्शदाता पठायो । बिहिबार दिउँसो कक्षा ११ का विद्यार्थीहरुलाई परामर्श दिईरहँदा एकैपटक तिन जना विद्यार्थी विरामी परे ।
आचार्यले भन्नुभयो, “यसपछि हामिले नगरपालिका,विद्यालय ब्यवस्थापन समिति,अविभावक लगायत सरोकारवालासंग समन्वय गरेर विद्यालय बिदाको निर्णय गर्यौ । आईतबार अविभावक पालिकाका प्रतिनिधि लगायतलाई राखेर कक्षा संचालन गर्छौ ।” उक्त दिन पनि यस्तै समस्या देखिए समाधानका लागी वृहत छलफल गर्ने र विकल्प खोजिने उहाँ बताउनुहुन्छ ।
कतिपयले यसलाई धार्मिक कारण देखाएका छन् भने कतिले मनोपरामर्शको माध्यमबाट समाधान हुने बताएका छन् । धामी झाँक्री, लामा विधि,बेद चन्डि लगायतका धार्मिक प्रकृया पुरा नभएर समस्या आएको कतिपयको तर्क छ । यसखालका समस्या विलकुल नयाँ भने होईन । यस्ता समस्या विभिन्न विद्यालयमा यस अघि देखिँदै आएको छ । हिमालय मावि गोर्खे, जनक मावि श्रीअन्तु लगायतका विद्यालयका केहि छात्राहरुले यो समस्या भोगिसकेका छन् ।

