मनोज अधिकारी
फिक्कल,२५ मङ्सिर ः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङ्गलाई आईतबार सम्मान गरिएको हो ।




इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचीत सांसद महेश बस्नेतले हिमाल आरोहण मृत्युसंगको लडाई जस्तै भएको भन्दै आरोहीहरुलाई राष्ट्रको गौरभ ठानेर तिनै तहको सरकारले सम्मान गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सगरमाथा चड्ने कुरा सामान्य होईन । मृत्युलाई छक्याएर विजयी हुने कुरा असामान्य साहास हो । राज्यका सबै तहका सरकारले गर्व गर्दै उहाँहरुलाई सम्मान गर्नुपर्छ ।” साँसद बस्नेतले जिवन र मरणको यात्रा पार गरेर विश्वलाई साहासको परिचय दिने उहाँहरु समाजका प्रेरणाका श्रोत भएको भन्दै प्रशंसा गर्नुभयो । चुनाव जितेर सफल हुनुभन्दा हिमाल आरोहण सफल हुनु ठुलो चुनौती रहने उहाँको धारणा छ । उहाँले सूर्योदय नगरपालिकाले आफ्नो गहनालाई चिन्नुपर्ने बताउनुभएको छ । स्थानीय सरकार बेखबर नभई सम्मान र प्रोत्साहन गर्न सुझाब दिनुभएको छ ।

नेकपा एमाले प्रदेश कमिटि सदस्य काजिमान कागतेले तेन्जिङ नोर्गे शेर्पाले हिमाल चडेको समाचार सुन्दा गर्व लागेको सम्झदै आफ्नै क्षेत्रका भाई बहिनहिरुले किर्तिमानी कायम गर्दा आफु उत्साहित भएको बताउनुभयो । “इज्जत भन्ने कुरा कमाउन सजिलै हुन्छ तर त्यसलाई कालान्तर सम्म बचाएर राख्न बडो कठिन हुन्छ ।” उहाँले भन्नुभयो, “तपाईहरुको साहासले प्रतिष्ठा कमाएको छ । यसलाई कायम राख्न थप प्रगतिका पाईला चाल्नुहोस् ।” नव निर्वाचित सांसद बस्नेतलाई बधाई ज्ञापन गर्दै कागतेले जनताको जिवनस्तर उकास्न र आर्थिक प्रगति हुनेगरि काम गर्न आग्रह गर्नुभएको छ ।

इलाम सूर्योदयका धार्चुङ छिरिङ शेर्पाले वि.सं २०७० साल ज्येष्ठ ६ गते तदनुसार २०१३ मे २० मा सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसैगरि सोही पालिका निवासी युवन्तिका तामाङ्गले वि.सं २०७९ बैशाख ३० तदनुसार १३ मे २०२२ मा सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँहरुले इलामका विभिन्न पर्यटकीय स्थलहरुको तस्विर सगरमाथाको चुचुरोमा पुगेर फहराउन सफल भएका कारण सम्मान गरिएको राष्ट्रिय युवा संघ नेपाल,इलामका अध्यक्ष चन्द्र पाठकले बताउनुभएको छ ।
नेकपा जिल्ला सदस्य युवराज बाशिष्ट, सूर्योदयन गर कमिटि अध्यक्ष दुर्गादेवि भट्टराई, जिल्ला सल्लाहकार सदस्य रमेश राई, सूर्योदय नगरपालिका वडा नं २ का वडाध्यक्ष एवं नगनर सामाजिक विकास समिति संयोजक डिक बम्जन, कार्यपालिका सदस्य सावित्रा शिवा लगायतको आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल,इलामका अध्यक्ष चन्द्र पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । राष्ट्रिय युवा संघ नेपाल,इलामका जिल्ला उपाध्यक्ष कन्चन राईले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सचिव दिनेश ढकालले गर्नुभएको थियो । (रासस)



