
फिक्कल,११ माघ, ः प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य शुरु भएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल (ग्लास ब्रिज) अ १३ दशमलव ५ मिलिमिटर साइकल ट्र्याक निर्माणको थालनि गरेको छ ।
नगरप्रमुख रण बहादुर राईले मंगलबार उक्त आयोजनाको शिलान्यास गर्नुभयो । उहाँले भन्नुभयो, “नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त लम्बाई भएको सिसाको पुलको निर्माण सुरु गरेका छौँ ।” राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो । “सिसाको पुल सहितको साइकल ट्रयाक निर्माणले त्यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखेका छौँ ।” प्रदेश १ सरकारको नवप्रवर्धन साँझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्ष भित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभएको छ।
उहाँका अनुसार, सो आयोजनाका लागि सूर्योदय नगरपालिका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ७ करोड ९३ लाख ६४ हजार रुपियाँ लागत रहेको छ । २०८१ माघमा काम सम्पन्न गर्ने गरी बीएस कन्ट्रसन कम्पनीले ठेक्का लिएर काम शुरु गरेको हो ।



अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दावी गरेको छ । एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका बिभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् ।
यस्तै सूर्योदय नगरपालिका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजार रुपियाँको लागतमा २०७९ असार मसान्तसम्मा सक्नेगरी १३ दशमलव ५ किलोमिटर साईकल ट्रयाक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरका इन्जिनियर शृजन गधालले जानकारी दिनुभयो ।
पुल र साइकल ट्रयाक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिका–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय नगरपालिका–११ को पूर्णेडाँडासम्म साइकल ट्रयाक निर्माण हुनेछ । नगर प्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्रयाक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनुभयो ।
परियोजना अन्तर्गत सूर्योदय ६ को कन्याममा ५९ साख ८३ हजार रुपियाँको लागतमा साँझा सुविधा केन्द्र निर्माण गरीनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको संकलन र विक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सीङ गुम्बाको मर्मत गरिने छ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ । उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अर्गानिक उत्पादन सम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारी सम्बन्धी र जैविक मल उत्पादन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरीसकेको छ ।(रासस)