सांसद दाहालको जलहरीको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइने

द्वारा प्रकाशित गरिएको हो |
२०८० जेष्ठ १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौंः प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ।

शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो।

बैठकमा नेकपा ९माओवादी केन्द्र० का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रवारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो। सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० का शीर्ष नेताहरुबीच छलफल भएको हो।

भेटमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने निराधार आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।

उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधन गर्नेमा सबै तीन दल सहमत भएको बताए।

उनले भने, ‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो, सबै नेताबीचमा पशुपति क्षेत्र विकास कोषले निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति क्षेत्र विकास कोषको हो। जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ भने दुई अर्बको कुरा पनि निराधार भएकाले त्यो विषय पनि रेकर्डबाट हट्नेछ। हामीप्रति निराधार लागेको आरोपको खण्डन गर्न चाहन्छौँ।’

सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि आधारहीन भएकाले संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए।

उनले भ्रष्टाचारका जति पनि मुद्दाहरुमा नेकपा एमाले छानबिन गर्न तयार रहेको बताए। संसदको जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय