पाथीभरा संरक्षण संस्थाले देखाउन सकेन पाँच वर्षको हिसाब

द्वारा प्रकाशित गरिएको हो |
२०८० जेष्ठ १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन थालेको छ । समितिले १ फागुनबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै सय दिनमा भेटीबापत ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ आम्दानी भएको छ । यो रकम गाउँपालिकाको खातामा जम्मा भएको र आम्दानी पाथीभरा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गरिने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैतमा २० लाख ६४ हजार सात सय ४३, वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच र जेठको १० दिनमा पाँच लाख ४१ हजार दुई सय ३६ संकलन भएको हो । अहिले संकलन भएको भेटी प्रत्येक दिन मुचुल्का गरेर कोषाध्यक्षले विकास समितिको खतामा जम्मा गर्छन् । त्यसपछि प्रत्येक महिना गाउँपालिकाको खातामा जम्मा गरिएको छ । पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको नगद, सुन र चाँदी० हरहिसाब देखाउन नसक्दा पाँच वर्षमा कति भेटी संकलन भयो र रकम कहाँ गयो भनेर यकिन हुन सकेको छैन । यो संस्थाले ०७३ असारदेखि संस्था नवीकरण र साधारणसभा पनि गरेको छैन ।

‘मन्दिरबाट भएको आम्दानीको सही सदुपयोग गर्दै पाथीभरालाई सुव्यवस्थित गर्छौँ । आमभक्तजनको सहयोग, चन्दा र दानलाई वेबसाइटमा हेर्न सकिने बताउँछौँ,’ उनले भने, ‘पाथीभरा मन्दिरको सबै आम्दानी यहीँको विकास र त्यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गर्नेछौँ ।’ गाउँपालिकाले आर्थिक वर्ष ०७८र७९ मा कुल ७२ लाख ५४ हजार मात्र आन्तरिक आम्दानी गरेको थियो । तर, अहिले मन्दिरको भेटीबाट आम्दानी बढेको छ ।

कहाँ गयो पाँच वर्षको भेटी ?
गाउँपालिका अध्यक्ष स्याङ्बोको पाथीभराको भेटीबापत वार्षिक तीन करोड संकलन हुने गरेको अनुमान छ । ‘सय दिनमा ६६ लाख उठ्दा त वर्षमा तीन करोड हुने रहेछ । त्यो पैसा ९पाँच वर्षको० कहाँ गयो रु त्यसको हिसाबकिताब कहाँ छ रु यहाँ अनियमितताको शंका छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएर काम गर्दै आएको पाथीभरा संरक्षण संस्थालाई गाउँपालिकामातहत ल्याउने भन्दै रोङ गाउँपालिकाले ०७५ मा पाथीभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि बनाएको थियो । उक्त कार्यविधिमा भने संकलित नगद, सुन तथा चाँदीको ७५ प्रतिशत गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने उल्लेख थियो । यद्यपि, कार्यविधि बने पनि उक्त संस्थाले गाउँपालिकाको खातामा आम्दानी दाखिला गरेन ।

‘कार्यविधि बनाएर पनि करको दायरामा आएन । हामी निर्वाचित भएर आएपछि सोध्दा हामी त जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हौँ भन्ने खालको प्रतिक्रिया दिए,’ उनले भने, ‘सहज हुँदा गाउँपालिकाअन्तर्गत भन्छन्, तर आम्दानी बुझाउँदैनन् । अप्ठ्यारो पर्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको भन्दै पन्छिने गरेका छन् ।’

बीचमा कति रसिद थपियो भन्ने रसिद नियन्त्रण खाता छैन । दैनिक शिला तथा दानपेटिकाबाट संकलित रकम जम्मा गर्दा कुनै सर्जिमिन मुचुल्का नभएकाले कति थियो भन्ने प्रमाण नभएका कारण त्यहाँ अनियमितताको शंका छ । गाउँपालिकाले अर्को विकास समिति बनाएर आफैँ आम्दानी संकलेन गरेर गाउँपालिकाको खातामा जम्मा गरेपछि भने उक्त संस्थाले १४ चैतमा संस्थाको नगद तथा जिन्सी सामान बुझिदिन भन्दै गाउँपालिकालाई पत्र लेखेको थियो ।

तर, गाउँपालिकाले लेखापरीक्षणविना हिसाब नबुझ्ने जवाफ फर्कायो । समयमा कागजात नदिएपछि सबै कागजात उपलब्ध नभएको भनेर लेखापरीक्षकले जानकारी गराए । १ जेठमा गाउँपालिकाले तत्काल उपलब्ध गराउन पत्र लेख्यो । १० जेठसम्म पनि नपाएपछि प्रतिवेदन तयार भएन ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७र७८ र ०७८र७९ को सात महिनाको गरी १९ महिनाको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरिएको थियो । १९ महिनामा ४९ लाख मात्र आम्दानी देखिएको लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन रहेको अध्यक्ष स्याङ्बोले बताए । जब कि पछिल्लो सय दिनमा मात्र मन्दिरमा ६३ लाखभन्दा बढी आम्दानी भएको छ । जुन आम्दानीको प्रारम्भिक प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको अध्यक्ष स्याङ्बो बताउँछन् ।

लेखापरीक्षणविना १४ जेठमा साधारणसभा तोकेपछि गाउँपालिकाले तत्काल पत्र लेखेर स्पष्टीकरण मागेको थियो । त्यसपछि भने ३२ जेठलाई साधारणसभा सारिएको अनौपचारिक जानकारी प्राप्त भएको थियो । यसबीचमा जबर्जस्त हिसाब मिलान गर्न सक्ने भन्दै गाउँपालिकाले बुधबार सर्वदलीय बैठक बोलाएर सबै कागज झिकाएर तत्काल जिल्ला प्रशासन कार्यालयलाई अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष स्याङ्बोले बताए । ‘यसबीचमा उनीहरूले खेल्ने शंका उब्जियो । त्यही भएर जिल्ला प्रशासन कार्यालयलाई अनुसन्धान गर्न आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय छ,’ उनले भने, ‘यो बैठकमा संस्थाका अध्यक्ष दौलतप्रसाद राई सहभागी भएर पनि उपस्थितिमा हस्ताक्षर गरेनन् । बरु उल्टै ३२ जेठको साधारणसभापछि गाउँपालिकाले बनाएको पाथीभरा क्षेत्र विकास समितिको विरुद्ध समानान्तर काम गर्ने धम्की दिए ।’

पाथीभरा संरक्षण संस्थाका सचिव दिलीप राईले भने पाथीभरा मन्दिरको भेटीमा अनियमितता नभएको दाबी गरे । उनले पाथीभरा मन्दिरको आम्दानी पालिकाको समन्वयमा नै मन्दिर क्षेत्रको विकासमा खर्च गरेको दाबी गरे । ‘०७७र७८ र ०७८र७९ को चाहिँ लेखापरीक्षण गर्न बाँकी थियो । पालिकाले कागजात मागिदियो । त्यसपछि गर्न सकेनौँ । त्यसअघिको हिसाब सबै सार्वजनिक गरेका छौँ । अब १९ महिनाको पनि तत्कालै गर्छौँ,’ सचिव राईले भने, ‘साधारणसभा पनि कोरोना र चुनावले गर्न सकिएन । संस्था नवीकरणचाहिँ अन्योलमा परेर हो । पालिकाले ०७५ मा कार्यविधि बनाइदियो । पालिकासँग समन्वय गरेर काम गर्‍यौँ । तसर्थ कहाँ नवीकरण गर्ने भन्ने अन्योल भयो ।’

गाउँपालिका पूर्वअध्यक्ष भन्छन् , कानुनी जटिलताका कारण करको दायरामा ल्यान सकिएन

रोङ गाउँपालिकाका पूर्वअध्यक्ष तथा हालका प्रदेशसभा सदस्य शमशेर राईलाई तत्कालीन अवस्थामा गाउँपालिकाले कार्यविधि बनाए पनि कानुनी जटिलताका कारण कार्यन्वयन गर्न नसकिएको बताए ।

उनले पाथिभरा संरक्षण संस्था संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कारण स्थानीय तहले सञ्चालन गर्न नसकेको उनले बताए । ‘पाथिभरा संरक्षण संस्था संस्था दर्ता ऐनअनुसार दर्ता भएको छ । हामीले कार्यविधि बनाएर गाउँपालिकाको दायरामा ल्याउने भन्यौँ । समिति पनि मनजुर भयो । पछि कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले यो संस्था दर्ता ऐनअनुसार छ भनेर गाउँपालिकाको दायरमा ल्याउन दिएन । त्यसपछि नहुने रहेछ भनेर हामीले गरेनौँ ।’ यद्यपि त्यहाँ उठेको आम्दानीको काम भने गाउँपालिकाले पत्र लेखेर ल्याउन नसकेको उनले बताए ।

नयाँ समिति बनाएर आम्दानी गाउँपालिकाको खातामा

पुरानो संस्थाले रोङ गाउँपालिकालाई आम्दानी बुझाउनु त परको कुरा हिसाबसमेत नदेखाएपछि गाउँपालिकाले ऐन नै बनाएर विकास समिति गठन गरेको छ । दिलिपकुमारी राईको अध्यक्षतामा गठन गरेको समितिले रोङ गाउँपालिकामा झण्डै वर्षभरमा संकलन हुने जति रकम एक सय दिनमै संकलन गरेको रोङ गाउँपालिका अध्यक्ष स्याङ्बो बताउँछन् । ‘सानो’ पाथिभराका नामले परिचित यो पाथिभरा मन्दिरमा भक्तजनले चढाएको नगद, सुन र चाँदीबाट १ फागुनदेखि १० जेठसम्मको सय दिनको अवधिमा ६६ लाख ६१ हजार ३ सय ७८ रुपैयाँ संकलन भई गाउँपालिकाको खातामा जम्मा भएको अध्यक्ष स्याङ्बोले बताए ।

विकास समितिले १ फागुनमा पाथिभरा मन्दिरको जिम्मा लिएपछि फागुनमा २१ लाख ७० हजार २९४, चैतमा २० लाख ६४ हजार ७४३, बैशाखमा १८ लाख ८५ हजार १०५ र जेठको दश दिनमा ५ लाख ४१ हजार २३६ रुपैयाँ संकलन गरी अम्दानीबापत गाउँपालिकाको खातामा जम्मा गरेको रोङ गाउँपालिकाले जनाएको छ । ‘यहाँ संकलन भएको भेटी प्रत्येक दिन मुचुल्का भएर कोषाध्यक्षले विकास समितिको खतातमा जम्मा गर्छन् । त्यसपछि प्रत्येक महिना गाउँपालिकाको खातामा जम्मा गर्न गरिएको छ,’ उनले भने, ‘संकलन भएको सबै रकम गाउँपालिकाको बैंक खातामा जम्मा हुन्छ । त्यहाँको व्यवस्थापन गाउँपालिकाले कानुन अनुसार पूर्णरूपमा गर्दै आएको छ ।’

पाथिभरा मन्दिरबाट प्राप्त भएको आम्दानीलाई पाथिभरा क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गरिने गाउँपालिका अध्यक्ष स्याङ्बो बताउँछन् । ‘मन्दिरबाट भएको आम्दानीको सही सदुपयोग गर्दै पाथिरभालाई सुव्यवस्थित गर्छौँ । आम भक्तजनको सहयोग, नन्दा र दानलाई बेवसाइटमा हेर्न सकिने बताउँछौँ,’ उनले भने,‘पाथिभारा मन्दिरको सबै आम्दानी यहीँको विकास र त्यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गर्ने छौँ ।’ from nayapatrikadaily

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय