मनोज अधिकारी
फिक्कलः इलामको पुरानो चियाबगान संरक्षण गर्न पुनः चिया रोपण शुरु गरिएको छ । सदरमुकामस्थित सो बगानमा आजभन्दा १६० बर्ष अघि (वि. सं १९२०) मा प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुरका ज्वाई गजराज सिंह थापाले पहिलोपटक विरुपा रोपेका थिए । तर बगान संरक्षण नहुँदा खण्डहर जस्तै बनेको थियो ।
पुरानो विरुवा मरेर भएको खाली ठाउँमा करिब सात हजार विरुपा रोपण गर्ने काम शुरु भएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभयो । “इलामको सुन्दरता नै चियाबारी हो । यसैको संरक्षण नहुँदा चिया पर्यटन समेत चुनौती बन्दै गएको थियो ।” नगरप्रमुख थापाले भन्नुभयो, “अभ भने पुरानै जातको चिया लगाएर ढकमक्क बनाएपछि इलाममा फेरी सुन्दरताको चमक थपिनेमा हामी विश्वस्त छौँ ।” इलाम नगरपालिकाको पहलमा नेपाल चिया विकास निकमले लिजमा दिएको कम्पनीले विरुवा रोपिरहेको हो ।
“देश विदेशबाट आएका पर्यटक तथा अनुशन्धानकर्ताहरुले इलामको पुरानो चियाबगान नै खोजी गर्छन् । तर, त्यसैको अवस्था विग्रिदो भएपछि हामीले विरुवा रोप्ने अभियान शुरु गराएका हौँ ।” उपप्रमुख विष्णु कुमारी लिम्बूले भन्नुभयो, “यो ऐतिहासिक महत्वको चिया बगान संरक्षण गर्न तिनै तहको सरकार लागिपर्न जरुरी छ ।”




