इलामः श्री हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोेर्खेको ७६ औँ बार्षिक उत्सवको अवसरमा चार जनालाई सम्मान गरिएको छ । विद्यालयमा शुक्रबार आयोजित बार्षिक उत्सव समारोहको अवसर पारेर शिक्षा क्षेत्रमा योगदान पुर्याएका चार जनालाई सम्मान गरिएको हो ।
वि सं २०५९ र २०६६ सालमा गठित हिमालय माविको दुई कार्याकाल ब्यवस्थापन समिति सदस्य र वि सं २०५९ मङ्सिर २९ देखि ०७२ साल पौष १६ सम्म अध्यक्ष पदमा रहेर करिब एक दशक विद्यालयको सञ्चालन र श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै सोही वडाका भिम बहादुर थामीलाई विद्यालयले सम्मान गरेको छ ।
त्यसैगरि सार्वजनिक प्रा.वी पशुपतिनगरमा वि संं २०२८ सालबाट शिक्षण पेशा सुरु गर्नु भएका झापा चार्पाने निवासी टंक बस्नेतलाई चेतनाको सञ्चार गर्ने मार्गदर्शकका रुपमा सम्मान गरिएको छ । बस्नेतले २०३१ देखि ०३३ सम्म हिमालय नि.मा.वि गोर्खे २०३३ देखि ०३६ सम्म सिद्धार्थ नि मा वि साखेजुङ ०३६ देखि ०३७ सम्म डम्बरदेवी मावि चमैतामा गरि करिब ९ बर्ष शिक्षण गराउनुभयो ।
त्यसैगरी अंग्रेजी विषयमा स्नात्तकोत्तर उतीर्ण गरि वि सं २०३३ सालमा सिंहदेवी प्रा वी मंगलबारेबाट शिक्षण पेशा आरम्भ गर्नुभएकी गोर्खेकी सविता सुब्बालाई विद्यालयले सम्मान गरेको छ । सुब्बाले सरस्वती प्रा.वि फेदिखोला,हिमालय प्रा.वि प्याङ, हिमालय मा.वि गोर्खे, सार्वजनिक प्रा.वि पशुपतिनगरमा अध्यापन गराई २०५५ देखि ०६९ सम्म सातदोबाटो ललितपुरमा निजी लगानीमा गोल्डेन सुनगाभा अङ्ग्रेजी मा.वि र ०७० देखि हालसम्म मयूँमाई अंग्रेजी विद्यालय सूर्योदय–१ मा सञ्चालन गरि शैक्षिक क्षेत्रको उन्नयन र विकास गरेको भन्दै विद्यालयले सम्मान गरेको हो ।
कार्यक्रमको अवसरमा श्री मेनुका स्मृती शैक्षिक विकास संस्थाले हिमालय मा.विका शिक्षक गणेश कुमार खड्कालाई सम्मान गरेको छ । संस्थाको विकास र प्रगतिमा स्थापनाकाल देखि नै सहयोग पुर्याएको सम्झँदै संस्थाले २०४६ देखि सरस्वती निवास आधारभूत विद्यालय सूर्योदय–१, सिंहदेवी मा.वि हुँदै हिमालय माविमा अध्यापनरत खड्कालाई सम्मान गरेको संस्थाका अध्यक्ष टिका सापकोटाले बताउनुभएको छ । खड्काले गएको जेठमा सूर्योदय नगरपालिकाले आयोजना गरेका नगरस्तरीय खुल्ला निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियोे । संस्थाका संस्थापक सूर्यभक्त सापकोटाका अनुसार हरेक बर्ष शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति र उत्कृष्ट विद्यार्थीहरुलाई यस संस्थाले सम्मान गर्दै आएको छ ।
समारोहको अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक,विद्यार्थी गरि करिब तीस जना बराबरलाई पुरष्किृत गरिएको विद्यालयका शिक्षक सिद्धि प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बाँणाको अध्यक्षता एवं नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यपक,शिक्षक,विद्यार्थी,अविभावक लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले स्वागत गर्नुभएको कार्यक्रममा बोल्दै वक्ताहरुले शैक्षिक विकास र गुणस्तर सुधारमा विद्यालय डटेर लाग्नुपर्ने बताएका छन् ।
भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङबाट तीन घण्टाको पैदल दुरीमा रहेको यस विद्यालयमा भारत सम्मका विद्यार्थीहरुले अध्ययन गरेका छन् । विभिन्न कठीन राजनैतिक परिस्थिति र कालखण्डमा मुस्किलले बचाउन सफल यस विद्यालय पूर्वी यस क्षेत्रको शैक्षिक धरोहर नै हो ।
विद्यालयका पूराना भवन पुन निर्माण मात्र हुँदै छैनन् यहाँका विद्यार्थीहरु एसईई र कक्षा १२ को नतिजामा समेत परिणाममूखी बन्न थालेका छन् । विद्यालयले तिहारमा संस्कृति बचाउने भन्दै विद्यार्थी,शिक्षक र अविभावकलाई लिएर करिब ४ दिन देउसी भैलो कार्यक्रम गरेको थियो । उक्त क्रममा भेटि बापत ३ लाख ५७ हजार नगद संकलन गरिएको शिक्षक उद्धव पौडेलले जानकारी दिनुभएको छ । बार्षिक उत्सव समारोह कार्यक्रमको सञ्चालन शिक्षक उद्धव पौडेल र निधि प्रसाद पाख्रेलले गर्नुभएको थियो ।