मनोज अधिकारी,इलाम,(रासस)ः इलाममा एभोकाडो खेती प्रति किसानको आकर्षण बढ्दै गएको छ । कम मेहेनतमा नै राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माईजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सय भन्दा धेरै एभोकाडो लगाउनुभएको छ । ‘तीन बर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन शुरु गरेको छ, दुई बर्ष पुराना बिरुवा धेरै छन्,गत बर्ष लगाएका बिरुवा भरखर सर्दैछन् ।’ खत्रीले भन्नुभयो,
सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलावारिमा एभोकाडो खेती गर्नुभएको छ । धेरै सुन्तला फलेकाले सुन्तलावारिको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको देवान बताउनुहुन्छ । ‘सुन्तला विस्थापीत भयो, नयाँ फलका रुपमा एभोकाडो खेती शुरु गरेका छौँ, एउटै बोटबाट एक क्वीन्टलसम्म उत्पादन हुन्छ ।’ देवानले भन्नुभयो, ‘ एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको रेकर्ड छ ।’
करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाई सय विरुवा रोपिएको देवानले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।’ नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनुभएका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गर्नुभएको हो । ‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदो रहेछ तर एभोकाडोलाई त्यतीधेरै समय दिनु पर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ ।’ उहाँले भन्नुभयो ।
जिल्लामा यस बर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिकटन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले बताउनु भएको छ । गतसाल ५५ हेक्टर जमिनमा खेती लगाईएको थियो भने यस बर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको बर्देवाले बताउनुभयो । उहाँका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । ‘गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिकटन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ ।’ उहाँले भन्नुभयो ।
नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँ–गाउँमा समेत विस्तार हुँदै गएको माईजोगमाईका खत्रीले बताउनुभएको छ । सो फलबाट किसानले मनग्ये आयआर्जन समेत गर्न थालेको स्वयम किसानहरूको भनाई छ । एक दशक मलेसीया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताउनुभयो ।
एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसानहरू बताउँछन् । सुरुमा तीन सय रुपैयाँ किलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । ‘ब्यापारीको दःख छैन, बगानमै आउँछन् र मुस्टमा दामकाम गरेर पनि किन्छन् ।’ देवानले भन्नुभयो । हाल इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बुले बताउनुभयो । उहाँका अनुसार हाल इलाम सहित, झापा, सुनसरी काठमाडौँ लगायतका स्थानमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।
दिउसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस सिजनमा मुख्य उत्पादन लिन सकिन्छ । दिर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्राय जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताहरूको भनाई छ ।
दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्राम देखी एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बिचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषकहरू यस खेतीमा तानिएको रोङ गाउँपालिका–५ जिर्मलेका किसान प्रेम राईले बताउनुभयो ।
एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब ६ वटासम्म एभोकाडो रोप्न सकिने माईजोगमाईका किसान खत्रीको भनाई छ । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताउनुभयो । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल ब्यवसायी नबिना कार्कीले बताउनुुभएको छ ।
यसमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । एक विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । जसमा ६ ग्राम चिल्लो, ३।४ ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुनेगरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ । ‘राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ।’ उहाँले भन्नुभयो, ‘बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकार्डो पूर्णरूपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।’
आफ्नो जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवर्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय र सहयोग गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषर्क यसतर्फ आकर्षित भएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो । एभोकाडोको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ ।
समुद्री सतहबाट दुई हजार ५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् । ४ नगरपालिका र ६ गाउँपालिका भएको इलामका सबै स्थानीय तहरुमा एभोकार्डोको आंशिक खेती हुन शुरु भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।