इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,इलाम,(रासस)ः इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकोमा यसवर्ष दश हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार, गएको बर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस बर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो ।

माईजोगमाई गाउँपालिकाको सोयाङ,नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क,माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भाग लगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताउनुभएको छ । ‘नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग शुरु गरेको छ ।’ उहाँले भन्नुभयो, ‘ब्यवसायीक फलफुल बगैँचा स्थापना सहयोग कार्यक्रम अन्तर्गत अनुदान दिइएका छौँ ।’

माईजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रति पिलर चार वटा बिरुवाका दरले एक सय पचास पिलर लगाउनुभएको छ । ‘भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन शुरु हुँदैछ,बार्षिक ८० हजार आम्दानी छ ।’ खत्रीले भन्नुभयो, ‘कुनै दुई बर्षका, कुनै तेश्रो बर्षका बिरुवा मात्र छन्, चार बर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ ।’ खत्रीले इलाम बजारमा प्रति केजी पाँच सयका दरले बिक्री गर्दै आउनुभएको छ । ‘उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहिँबाट खपत भैरहेको छ ।’ उहाँले भन्नुभयो ।

झापाको प्यारोडाईज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्श बमोजिम खत्रीले खेती शुरु गरेको आउँदो जेठमा चार बर्ष पुग्छ । ‘इलाममा ड्रागन फ्रुटको खेती शुरु गर्ने सायदै म नै पहिलो होला,विज्ञको सुझाव र काम गर्ने लगनशिलताले मलाई सफल भएँ जस्तो लाग्छ ।’ उहाँ भन्नुहुन्छ, ‘यसले वैशाखदेखि सुरू भएर कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ ।’

इलाम गोलाखर्कका अर्का  किसान ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुबै प्रयोजनकालागी प्रयोग गरिने बताउनुहुन्छ । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको उहाँले बताउनुभयो । ‘विशेष गरी सुगर र कोलेस्ट्रालका विरामीहरुका लागि यो हितकर छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ ।’ किसान सन्देश खड्काले बताउनुभयो । एक चिकित्सकका अनुसार, यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो । यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरुलाइ धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसानहरु बताउँछन् । उष्ण क्षेत्र यो खेतीको लागि उत्तम मानिने खत्रीले बताउनुभयो । यदि धेरै घाम लाग्ने ठाउँ छ भने छायाँ प्रदान गरि राम्रो उत्पादन लिन सकिने उहाँको भनाई छ । ‘यसको लागि हल्का बलौटे देखि दोमट माटो उपयुक्त हुन्छ । प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ । माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरि प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ ।’ उहाँले भन्नुभयो । यसको बिउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बिउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बिउबाट उत्पादित बिरुवाले सम्भव नहुने उहाँको सुझाव छ । ड्रागन फ्रुट खेतीको लागि थोपा सिंचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् ।

छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भैसकेको छैन । तर, हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन–फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती शुरु हुँदा अनुदान मार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताउनुभयो । बजारको उचित ब्यवस्था गरि किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय