चन्द्रकला आ.वि.मा शिक्षासेवी खड्कालाई सम्मानः अक्षय कोष स्थापना गर्न जुट्दै सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०८० फाल्गुन ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः सूर्योदय नगरपालिका–१ सीमधापमा अवस्थित चन्द्रकला आधारभूत विद्यालयले शिक्षासेवी निर कुमार खड्कालाई सम्मान गरेको छ । बसन्त पञ्चमीको अवसरमा आयोजित सरस्वती पूजा र अन्य साँस्कृतिक कार्यक्रमका बिच पूर्व प्रधानाध्यापक एवं व्यवस्थापन समिति अध्यक्ष खड्कालाई सम्मान गरिएको पूर्व शिक्षक कृष्ण बजगाँईले बताउनुभएको छ ।

२०२९ बैशाखबाट ६ महिना विद्यालयको प्रधानाध्यापक बन्नुभएका खड्का ०४६ सालदेखि ०५० सालसम्म अस्थायी शिक्षक र ०५६ सालमा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बन्नुभएको थियो । खड्काले डेढ दशक भन्दा धेरै इलाम र जिल्ला बाहिरका विभिन्न गा.बि.स.हरुमा सचिव पदमा रहेर सेवा उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रमको औचित्य पुष्टि गर्दै विद्यालयका प्रधानाध्यापक भिम बहादुर खापुङले विद्यालय अभिभावकको भावनालाई सम्मान गरि समयानुकूल रुपान्तरण गर्दै अघि बढ्न प्रयत्नशील रहेको बताउनुभयो । उहाँले शिक्षासेवीको सम्मानले शिक्षा क्षेत्रमा थप कर्मशिल नागरिकहरुको योगदान बढेर जाने भन्दै उहाँलाई सम्मान गरिएको बताउनुभएको छ ।

विद्यालयमा अक्षय कोष स्थापना गर्न विभिन्न दाताहरुले सहयोग गरेका छन् । कार्यक्रमको अवसरमा स्थानीय मेहेलबोटेका समाजसेवी सूर्यभक्त सापकोटाले दश हजार एक सय रुपैया र नेपाली कांग्रेस सूर्योदयकी कोषाध्यक्ष गीतादेवि ओस्तिले पाँच हजार सहयोग गर्नुभएको छ । २०८० को तिहारमा देउसीभैलो कार्यक्रम बाट संकलित एक लाख रुपैयामा दाताहरुबाट संकलित रकम थप गरि अक्षय कोष स्थापना गर्ने र ब्याज रकमबाट निजी शिक्षकलाई तलब सुविधा उपलब्ध गराउने विद्यालयको तयारी हो ।

कार्यक्रमको अवसरमा विभिन्न ब्यक्तिहरुले अक्षय कोषमा रकम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पूर्व शिक्षक बजगाईका अनुसार, उहाँ स्वयम्ले बीस हजार, कांग्रेस वडा सभापति अर्जुन भट्टराईले दश हजार, कांग्रेस सूर्योदय सचिव सुसिल ढुङ्गेलले पाँच हजार र मकरजुङका प.अनन्त शरण पौड्यालले स्व. बुवा नन्दलाल पौड्यालको स्मृतिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको बजगाईले जानकारी दिनुभएको छ । कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा रहेर विद्यालयलाई सहयोग गर्ने १४ जनालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर लिम्बुुको अध्यक्षता एवं वडाध्यक्ष राजकुमार शेरेङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस सूर्योदयका सचिव सुसिल ढुङ्गेल,वडा सभापति अर्जुन कुमार भट्टराई,नेकपा एमाले नगर कमिटि सदस्य एवं वडा इन्चार्ज अमृत पाण्डे, हिमालय मा.वि. गोर्खेका प्रधानाध्यापक कुल बहादुर इम्सङ,शिक्षक गणेश कुमार खड्का लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वि.सं २००८ सालमा स्थापित यस विद्यालयमा हाल ४८ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने दुई जना स्थायी शिक्षक, दुई जना बाल विकास शिक्षक,एकजना निजी शिक्षक र एकजना कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय