इलाम– इलामस्थित नेकपा ९एमाले०ले पार्टीबाट उपनिर्वाचनका लागि उम्मेदवार बन्न चाहनेलाई आफ्नो इच्छा राख्न दिने निर्णय गरेको छ ।
पार्टी जिल्ला कमिटीको पूर्ण बैठकले इलाम क्षेत्र २ को निर्वाचनमा उम्मेदवार बन्न इच्छा हुने व्यक्तिले पार्टीको नीति, विधि र प्रक्रियामा रहेर विचार व्यक्त गर्न पाउने निर्णय गरेको हो ।
केही महिनाअघि क्षेत्र २ मा उपनिर्वाचन हुने भएपछि केही नेता–कार्यकर्ताको नाम आफू पनि उम्मेदवार हुने भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको थियो ।
त्यसपछि जिल्ला कमिटी बैठकले पार्टीले आधिकारिक रूपमा निर्णय नगरी, विधि, प्रक्रियाबिना कसैले पनि सामाजिक सञ्जाल र मिडियामा उम्मेदवारी घोषणा गरे कारबाही गर्ने निर्णय गरेको थियो ।
‘अहिले निर्वाचनको मिति नै घोषणा भएपछि भने योग्यता पुगेको व्यक्तिले म उम्मेदवार बन्न चाहन्छुु भन्ने भावना व्यक्त गर्न सक्नेछन्,’ एमाले जिल्ला सचिव उमेश गुरुङले भने, ‘तर, उम्मेदवार बन्न चाहने व्यक्तिले आफ्नो इच्छा व्यक्त गर्दा पार्टीको नीति, विधि र प्रक्रियासम्मत चाहिँ हुनुपर्छ भन्ने निर्णय भएको छ ।’
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा यो क्षेत्रका निर्वाचित सांसद सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा एमालेबाट नेम्बाङकै छोरा सुहाङ, बुद्धि खनाल, रवीन्द्र सुवेदी, डा।देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईलगायतको नाम उम्मेदवारका लागि चर्चामा छ ।