इलाम,२१फागुनः जिल्ला निर्वाचन कार्यालय इलामले क्षेत्र नं २ मा उपनिर्वाचनको तयारी सुरु गरेको छ । आगामी वैशाख १५ गतेलाई उपनिर्वाचन तोकिएपछि तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको हो ।
मतदाता नामावली रुजु गर्ने, निर्वाचनमा चाहिने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयलले जानकारी दिनुभएको छ ।
उहाँका अनसार,उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार फागुन २४ देखि ३० सम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । यस्तै, चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।
चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्तगरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहनुभएका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर–२ मा उपनिर्वाचन हुन लागेको हो ।
इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ । प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । यहाँ १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल रहने आयोगले जनाएको छ ।