सरिता राई
इलाम,०९असारः सन्दकपुर गाउँपालिकाका विभिन्न विद्यालयहरुमा बालविवाह अन्त्य सम्बन्धी चेतनामूलक नाटक प्रदर्शन गरिएको छ । लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मन्चको आयोजना, सन्दकपुर गाँउपालिकाको समन्वय र चेतना नाट्य समुहले बाल विवाह अन्त्यको लागि सडक नाटक विभिन्न विद्यालयमा प्रस्तुत गरिएको हो।
पछिल्लो समय नेपालमा बाल विवाहको घटना बढिरहेको अवस्था छ। त्यसमा पनि विद्यालयमा पढिरहेका विद्यार्थिहरु बढीपर्ने गरेका छन। प्रदेश सरकारले सन २०२५ सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पनि यसले थप सहयोग पुग्ने अपेक्षाका साथ नाटक गरिएको चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलले बताए। नाटक सन्दकपुर गाँउपालिकाको सरस्वती माध्यमिक विद्यालय ,माईपोखरी संस्कृत मावी, इस्ट इस्काई विद्यालय र माईपोखरी एकेडेमीमा गरिएको हो।
नाटक हेरिसकेपश्चात सरस्वती माविका प्र।अ रेखराज पोखरेलले यो नाटकले वालवालिकाहरुलाई सचेत गराएको महसुस भएको बताए।
यस्तै वडा नम्बर ३ का वडाध्य्क्ष लिलबहादुर बुर्जाले अहिले आफ्नो वडा वालमैत्री अभियानमा लागिरहेको बेला यो नाटकले थप सहयोग पुग्ने आशा रहेको र यो अभियानका लागि सामाजिक विकास मन्त्रालयलाई धन्यवाद व्यक्त गर्दै नाटक साच्चिकै सचेतनामुलक रहेको बताए। आगामी दिनमा पनि यस्तो खालको अभियान आउनुपर्नेमा समेत जोड दिए।
यस्तै पालिका उपाध्यक्ष हरि बहादुर लुन्ङेली मगरले नाटकले विद्यार्थिहरुमा गहिरो छाप छोडेको बताएका छन्। नाटकको माध्यमबाट सजिलै संगले बाल विवाहले पुर्याउने असर , निम्त्याउन सक्ने खतराको बारेमा जान्कारी भएको साथै बाल विवाह गर्नु हुदैन भन्ने सन्देश सजिलै सँगले बालबालिकाले बुझेको बताएका हुन।
नाटकको निर्देशन समुहको अध्यक्ष सुरेश पोर्तेलले गरेका थिए। नाटक चेतना नाट्यसमुहका कलाकार पोर्तेल, सरिता राई, सुशान्त चापागाईं, प्रतिमा रिजाल, विमला राई र निशान देवानलगायतले प्रस्तुत गरेका हुन। नाटकलाई व्यवस्थापन गर्न मानव अधिकार मन्चका रुद्र थेवे र जीवन कुमालले सहयोग गरेका थिए ।