मनोज अधिकारी
इलाम,०७असारः सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौंदेखि डोकोमा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घर आँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । ‘डोकोमा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपना जस्तै लाग्छ ।’ ८० वर्षीय विरबहादुर राईले भन्नुभयो । ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्नुहुन्छ, ‘पहिला एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपथ्र्यो । आज घरमा धारो बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।’
०७५ सालबाट सुरु गरिएको धजे–मकरजुङ खानेपानी आयोजना ०८१ साल चैत २ गते सम्पन्न भई हाल १६७ घरधुरीमा धारो जडान गरिएको छ । कोशी प्रदेश सरकारको ५८ लाख २० हजार ९ सय ३३ रुपैयाँ बजेटमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टिका सापकोटाले बताउनुभयो । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइपलाइन बिछ्याएर ल्याईएको पानी सञ्चालनमा आएसँगै यहाँका ९ सय ४० उपभोक्ता लाभान्वित भएका छन् ।



सनिवार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बिच कोशी प्रदेशकी सांसद खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा आयोजनाको उद्घाटन गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि सांसद लिम्बूले सुख्खा क्षेत्रसम्म पानी ल्याउनका लागि अनेकौं चुनौती झेलिएको उल्लेख गर्नुभयो । ‘अब धजे–मकरजुङका बासिन्दाले शुद्ध पानीका साथ विकासको स्वाद चाख्न पाउनुभएकोमा बधाई छ ।’ उहाँले भन्नुभयो, ‘यहाँको खानेपानी हाहाकार अन्त्य भएको छ ।’ नगरप्रमुख राईले स्वच्छ खानेपानीले विकासको गति नै बढ्ने धारणा व्यक्त गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार, योजनाअन्तर्गत ५० घनमिटर क्षमताका २ थान र १० घनमिटर क्षमताका ३ थान ट्याङ्की निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजनालाई गुणस्तरीय ठहर गर्दै सफल कार्यान्वयनमा बधाई दिनुभयो । उद्घाटन अवसरमा आयोजनामा सहयोग पु¥याउने १५ जना स्थानीयलाई सम्मान गरिएको उपभोक्ता समितिका सचिव लोक बहादुर राईले बताउनुभएको छ । कार्यक्रममा नगर उपप्रमुख दुर्गा कुमार बराल, वडाध्यक्ष राजकुमार शेरेङ, विभिन्न राजनीतिक दलका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।



