
मनोज अधिकारी
इलाम,०२साउनः विदेशको तातो मरुभूमिमा पसिना बगाएर घरको सपना सजाउँदै थिए लेखनाथ खतिवडा। श्रीमतीको मुस्कान, छोराहरूको भविष्य र बाआमाको आशिर्वाद बोकेर उनी दुवई पुगेका थिए। तर, जून बाटोबाट फर्कने आशा थियो, त्यसै बाटोबाट अब उनी बाकसमा फर्किए—शव बनेर ।
कमाउन गएका थिए–श्रमको रापमा सपनाको सिंचाइ गर्न। तर दुवैको अस्पतालमा सास टुटेपछि सूर्योदय नगरपालिका(७ गोगनेका ३५ बर्षीय लेखनाथ खतिवडा सधैंका लागि नफर्किने भए। घर फर्केको छ त केवल उनको निस्सासिएको सपना र टन्टलापुर पीडा।



वैदेशिक रोजगारीका लागि गएको जेठ ५ गते दुवै पुगेका लेखनाथ असार ८ गतेदेखि शिकिस्त विरामी परेका थिए। सेतो रक्तकोषको कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई निमोनिया समेत भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो । तर, असार २८ गते दुवैस्थित एआई रोसिड अस्पतालमा उन्को निधन भयो । लेखनाथका काका लिलाधरका अनुसार उनी एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत रहेक थिए ।
‘अत्यधिक उपचार खर्चका कारण परिवारले आर्थिक सहयोगको अपिलसमेत गर्नुपर्यो । धेरैले साथ दिनुभयो, तर पनि लेखनाथलाई बचाउन सकिएन।’ काका लिलाधरले भने, शव बिहिबार आईपुग्यो शुक्रबार अन्त्येष्टि गर्छौँ ।’
बाबा अब कहिले आउँछन्रुू छोरा पलको यो प्रश्नले आमाको मन चिरिएको छ । श्रीमतीको पर्खाइ अधुरो रह्यो, र बाआमाको आशिर्वाद परदेशमै बिलायो। कमाउन गएका लेखनाथ अब कहिल्यै नफर्किने भएर आए।
श्रीमान चाँडै फर्किन्छन् भन्ने आशामा बाँचिरहेकी पूजा आज बाकसको शव हेरेर टोलाईरहेकी छन् । पल र प्रनिलका लागि ‘बाबा’ शब्द अब सम्झनामा मात्रै हुन पुगेको छ। श्रीमती पूजा र आमाबाबुको आँखाबाट अविरल बगिरहेको आँशुले लेखनाथको अधुरो जीवन कथा लेख्दैछ। लेखनाथ खतिवडाको अवसानले गोगने गाउँ शोकमय बनेको छ ।
छोरा प्रनिल र पल, पत्नी चन्द्रदेवी, बुबा मनोरथ र आमा भोजकुमारीको आँखामा लेखनाथको अधुरो सपना झलझली देखिन्छ — जसले भन्थे, ‘परदेशमा कमाएर घर फर्किन्छु, सबै सपना पूरा गर्छु ।’
तस्वीरः लेखनाथलाई कुरेर बसिरहेका बुवा मनोरथ, आमा भोजकुमारी र श्रीमती चन्द्रदेवी(पूजा) ।