लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषले के गर्न सक्छन्?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जनजिब्रोमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने आउँछ ।

महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालाईर् बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।

आजको एक्काइसौं शताब्दीमा पनि परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेद लगायत कारण महिलाहरू हिंसामा पर्ने क्रम रोकिएको छैन । यही कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र सबैखाले लैङ्गिक हिंसा अन्त्यका लागि विश्वव्यापी रूपमा लैङ्गिकविरुद्धको अभियान सञ्चालन गर्ने गरिन्छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ । यो दिवसको शुरुआत सन् १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकाबाट भएको हो । डोमिनिकल गणराज्यको तत्कालीन त्रुजिलो तानाशाही सरकार विरुद्ध आन्दोलन गर्ने क्रममा मिरावल परिवारका तीन दिदी बहिनीको हत्यासँग यो अभियानको इतिहास जोडिएको छ । सन् १९२४ मा पेट्रिय, १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो ।

अन्याय नसहने स्वभावका यी दिदीबहिनीहरू तत्कालीन त्रुजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालीन सरकारले तीनै दिदीबहिनी र उनको परिवारलाई राजद्रोहको आरोप लगायो । उनीहरू पटक(पटक जेल परे । १९६० को शुरुआतमा त्यहाँको सरकारले उनीहरूलाई राजद्रोहीका रूपमा घोषणा गर्‍यो । यसरी घोषणा गरेको ११ महीनापछि नोभेम्बर २५ का दिन उनीहरूको हत्या भएको थियो । उक्त हत्यापछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक वर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो ।

त्यो घटनालाई महिलामाथि हुने हिंसाका रूपमा लिनुका साथै त्यसैको सम्झनामा सन् १९९१ मा सेन्टर फर वुमेन ग्लोबल लीडरसिप ९सीडब्लुजीएल० को सहयोगमा २० देशका महिला संस्थाहरूले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन आहृवान गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा यो अभियान मनाउने घोषणा गरेको थियो ।

नेपालमा १९९७ देखि विविध कार्यक्रम गरी यो दिन मनाउन शुरु गरिएको छ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्ने अभियानका रूपमा यस अभियानलाई मनाइएको थियो ।

पछिल्ला वर्षहरूमा यो अभियानलाई नियमित रूपमा महिला हिंसा विरुद्धको अभियानका रूपमा मनाउने गरेको पाइन्छ । अभियान अन्तर्गत २५ नोभेम्बरमा महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २९ नोभेम्बरमा विश्व मानवअधिकार रक्षक दिवस, १ डिसेम्बरमा विश्व एड्स दिवस, ३ डिसेम्बरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, ५ डिसेम्बरमा सामाजिक तथा आर्थिक विकासका लागि स्वयम्सेवी दिवस, ६ डिसेम्बरमा महिला शहीदहरूको सम्मान दिवस र १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाइन्छ ।

यस वर्ष ‘ओरेन्ज द वल्र्डः इन्ड भ्वाइलेन्स अगेन्स्ट वुमेन नाउ’ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको छ । बिहीबारदेखि नेपालमा पनि ‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ ।

नेपालमा पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि थुप्रै कानूनी र संरचनात्मक प्रयास भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा राज्यले प्रतिबद्धता गरेको छ । संयुक्त राष्ट्रसंघीय महासन्धि, प्रतिज्ञापत्र, प्रस्तावहरूको नेपाल पक्ष राष्ट्र भइसकेको छ । यसको साथसाथै महिलामाथि हुने हिंसा रोक्नका लागि संवैधानिक तथा कानूनी व्यवस्था गरेको छ । महिलामाथि हुने विभेद तथा हिंसा रोक्नका लागि राज्यले विभिन्न समयमा कार्ययोजना बनाउँदै कार्यान्वयन पनि गरेको छ । हिंसा पीडित महिलाहरूलाई कानूनी रूपमा, आर्थिक रूपमा सुरक्षा प्रदान गर्ने कतिपय नीति व्यवस्था पनि गरिएको छ । तर पनि महिलामाथि हुने हिंसाका घटना कम नभएको तथ्याङ्कले देखाउँछ । अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय