
इलाम– इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा विशाल कार्की निर्वाचित भएका छन् । विनम्र शैलीले अधिकांश विद्यार्थीको प्रिय बनेका विशाल लामो समयदेखी विद्यार्थी राजनीतिमा सकृय विद्यार्थी नेता हुन् । विद्यार्थी राजनीतिमा लागेका थुप्रै नेताहरु युवा जोशको समुचित प्रयोग गर्न नसक्दा विफल भईरहेको प्रशस्तै उदाहरण पाईन्छ । तर, विशालले सालिन, शान्त र विनम्र भएरै लोकप्रिय मत पाएका छन् । उनी क्याम्पसका अधिकतर समस्या समाधान गर्ने हुटहुटी भएको बताउँछन् । कलिलै उमेरमा थुप्रै जिम्मेवारी सम्हालेका विशालसँग काम गर्ने धेरै अनुभव पनि छन् ।
बुवा मनबहादुर कार्की र आमा लोककुमारी कार्कीको कोखबाट २०५४ फागुन २३ गते जन्मिएका काकीले अनेरास्ववियु नेपालटार माध्यमिक विद्यालय प्रारम्भिक कमिटीबाट राजनीतिक जीवन सुरुवात गरेका हुन् । उनले स्नातक तह अध्ययनको लागि मरब क्याम्पस आउँदा क्याम्पसको प्रारम्भिक कमिटी हुँदै सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । साथै जिल्ला कमीटी सदस्य, कार्यालय सचिव, कोषाध्यक्ष, सह–सचिव र हाल सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । पार्टी कमिटीभित्र वडा कमिटीको उपसचिव भई वर्तमानमा पार्टी इलाम नगर कमिटी सदस्य पनि छन् ।



यस अघि सम्पन्न स्ववियु निर्वाचन २०७९ मा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका विशाललाई यसपटकको चुनाब जित्न कुनै कसरत देखिएन । विद्यार्थीको हक हित र अधिकारका पक्षमा हरेक समय लडिरहने भएरै विशाल सबैको प्रिय बनेको विद्यार्थी खेमराज ढकाल बताउँछन् । ‘उनलाई आफ्नो प्यानलले मात्र होइन विपक्षी प्यानलमा देखिएका धेरै विद्यार्थीहरुले समेत सहयोग गरे ।’ ढकालले बताए ।
हिजो(सोमबार) सम्पन्न चुनावको अन्तिम मतपरिणाम आज(मंगलबार) बिहान सार्वजनिक गरिएको हो । उक्त परिणाम अनुसार अध्यक्षमा कार्की सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन .(अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयुक्त प्यानल नै विजयी भयो ।
अध्यक्षमा (अनेरास्ववियु)का कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएको हो । कार्कीले पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का शम्भू राईले तीन सय ४७ मत ल्याएको निर्वाचन समितिको तथ्यांक छ । राई साझा प्यानलका उम्मेदवार हुन् ।
निर्वाचन अधिकृत देवराज घिमिरेका अनुसार सचिवमा नेविसंघकी रेखा बेघा छ सय २१ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी सविन चौहानको दुई सय ५८ मत आएको छ । कोषाध्यक्षमा अनेरास्ववियुका सुनील शंकर विजयी भए । उनले पाँच सय ९२ मत ल्याएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी मनिष गजमेरले दुई सय ७३ मत ल्याएका छन् । सात सदस्यमा कुशल राई ६०२ मत, निशा भट्टराई ५१३ मत, विप्लव एक्तेन ५२० मत, मंगेश राई ५१७ मत, बिना बस्नेत ४६६ मत र सुरेन्द्र गुरुङ ३८६ मत ल्याएर विजयी भए ।
समानुपातिकतर्फ पनि नौ सय चार मत खसेकामा नेविसंघ पहिलो भएको छ । नेविसंघले तीन सय ३६ मत ल्याएको हो । उसले तीन सिट पाएको छ । अनेरास्ववियु (एमालेनिकट)ले दुई सय ७५ मतसहित तीन सिट पाएको छ । अखिल (क्रान्तिकारी)ले दुई सय मतसहित दुई सिट पाएको छ भने अनेरास्ववियू (नेकपा एसनिकट)ले ७८ मतसहित एक सिट पाएको छ । १५ मत बदर भएको छ । एक हजार पाँच सय ७४ मतदाता रहेकामा नौ सय चार मत खसेको थियो ।
‘लामो समय मरव क्याम्पसको विद्यार्थी आन्दोलनमा जोडिएर विद्यार्थीहरूको समस्यालाई नजिकबाट हेरेको र समाधानका लागि प्रयत्न गरेको छु । स्ववियु भित्र नै रहेर यस अघि एक कार्यकाल अनुभव बटुलेको र विद्यार्थीका मुद्दाहरुलाई बुझेकाले अब नेतृत्व तहमा पुगेर आम विद्यार्थीका समस्या समाधान गर्ने हुटहुटी छ ।’ विशाललले भने, ‘अब स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूमाझ राजनीतिक बुझाइ छर्न आवश्यक रहेको उनको भनाई छ ।
‘राजनीतिप्रतिको चेत विद्यार्थीमा किन आवश्यक छ? विद्यार्थीहरूले यो समाजप्रति बुझाइ किन राख्नुपर्छ? भन्ने कुराहरु अब हाम्रो कार्यभार हो ।’ नवनिर्वाचित सचिव रेखा बेघा भन्छिन्, ‘स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रम र राजनीतिक बुझाइका लागि आवश्यक कार्यक्रमहरू प्रदान गर्न अत्यावश्यक छ ।’
कोषध्यक्ष सुनील शंकरले भने, ‘हामी यही समाजमा छौं र समाजलाई बदल्ने र सकारात्मक बनाउने काम यही भित्रको हामीले गर्नुपर्छ । विशेष गरेर चेतनशील वर्ग विद्यार्थीहरुले नै गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरुलाई कार्यक्रमको मार्फत बुझाउन जरुरी छ । थुप्रै सम्भावनाहरु हामी भित्रै छन् हामीमाझै छन् जुन किसिमले सम्भावना छँदै छैनन् भन्ने एउटा भ्रम र भाष्य विभिन्न हिसाबले ती भ्रमहरूलाई चिर्ने काम अबको हाम्रो काँधमा छ ।’