कृषि समृद्धिका लागि डेढ करोड खर्चियो इलामले

द्वारा प्रकाशित गरिएको हो |
२०८३ असार १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

मनोज अधिकारी
इलामः इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा मात्र एक करोड पचास लाख रुपैयाँ खर्च गरेको छ । कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै प्राङ्गारिक खेती बिस्तार, स्थानीय बीउ संरक्षण, मौरीपालन प्रवद्र्धन, सिञ्चाई व्यवस्थापन, कृषि यान्त्रिकीकरण तथा उत्पादनमुखी कार्यक्रममार्फत कृषकलाई प्रत्यक्ष लाभ पु¥याउन सो बजेट खर्चिएको नगरले जनाएको छ ।‘कृषिक्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने हाम्रो लक्ष्य हो’, नगरप्रमुख केदार थापाले भने, ‘कृषकलाई उत्पादन र आम्दानी बृद्धि गर्न सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।’ थापाले उत्पादन वृद्धि, बजारसँगको पहुँच र किसानको आयस्तर सुधारमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए ।
नगरपालिकाले सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा कृषिमा लगानी गरिरहेको जनाइएको छ । कोशी प्रदेश सरकार र इलाम नपाको लागत साझेदारीमा सञ्चालन भएको प्राङ्गारिक क्षेत्र रूपान्तरण आयोजनाअन्तर्गत वडा नं ७ मा प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गरिएको छ ।
केन्द्र सञ्चालनमा आएपछि कृषकहरू उत्साहित छन् । इलाम ७ का किसान राजन राईले प्राङ्गारिक मल पर्याप्त मात्रामा नपाइने समस्या केन्द्र सञ्चालन भएपछि समाधान भएको बताए । उनले भने, ‘मल सहज रूपमा उपलब्ध छ । यसले खेतीमा लागत घटाउनुका साथै प्राङ्गारिक उत्पादन बढाउने आशा छ ।’
अर्का किसान राम क्षेत्रीले प्राङ्गारिक खेती सम्बन्धी तालिम र सचेतना कार्यक्रमले खेती गर्ने तरिकामा सकारात्मक परिवर्तन ल्याएको बताए । ‘प्राङ्गारिक खेतीको महत्वबारे बुझियो । अब रासायनिक मलको निर्भरता घटाएर स्वस्थ र गुणस्तरीय उत्पादन गर्नुपर्छ ।’ उनले थपे । किसानले केन्द्रको दीर्घकालीन सञ्चालन र प्राविधिक सहयोगले इलामलाई प्राङ्गारिक कृषि क्षेत्रको रूपमा चिनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश र स्थानीय सरकारको समान ५०÷५० लाख रुपैयाँ लागतमा सञ्चालन भएको उक्त कार्यक्रममार्फत वडा नं। ६ का पाँचसय ४७ कृषकलाई प्राङ्गारिक खेती प्रणालीसम्बन्धी गत वैशाख २० गते एकदिने अन्तरक्रिया, छलफल तथा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरियो ।

मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि सबै वडाको प्रतिनिधित्व हुनेगरी १६ जना मौरीपालक कृषकलाई गत आ।व।मा रानी मौरी उत्पादन तथा प्राकृतिक घार निर्माण कार्यक्रममा समेटिएको कृषि शाखाका प्रमुख उपेन्द्र नेपालले जानकारी दिए । ‘छ लाख रुपैयाँ थियो । उक्त कार्यक्रमले मौरीजन्य उत्पादन बृद्धि र आम्दानी बिस्तारमा सहयोग पुग्ने अपेक्षा छ’ उनले भने ।

आधुनिक खेतीप्रति आकर्षित भएका यहाँका अधिकांश किसानले गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण बाली तथा पशुपक्षीमा ठुलो क्षति व्यहोर्नु प¥यो । ती कृषकलाई राहत प्रदान गर्न ५० लाख रुपैयाँ बजेट खर्चिइयो । चालु आ।ब।मा १२ वटै वडाका एक हजार ६७ कृषकलाई राहत सहयोग उपलब्ध गराइयो । ‘विपत्तिले बाली सखाप पारेको थियो । पहिरोले गाई पु¥यो । थोरै भएपनि राहत पाइयो । केही सहज भएको छ’, वडा नं ४ का पहिरो पीडित किसान किशोर अधिकारीले भने ।

कृषिउपजको उत्पादन बढाउन किसानलाई उन्नत बीउविजन वितरण गरिएको छ । नगरपालिकाभरिका किसान छनौट गरी १२ क्वीण्टल गहुँको, १९ क्वीण्टल मकैको तथा साढे तीन क्वीण्टल धानको बीउ वितरण गरिएको छ । सङ्घीय सरकारको ११ लाख ७५ हजार रुपैयाँ सहयोगमा सञ्चालित कार्यक्रममा आवश्यकताअनुसार प्रतिकृषक दुईदेखि पाँच किलोसम्म बीउ बाँडिएको शाखा प्रमुख नेपालले बताए ।

त्यस्तै उन्नत तथा रैथाने जातका बीउ उत्पादनमा प्रोत्साहित गर्न २२ कृषकलाई यहि असार ४ देखि ७ गतेसम्म बीउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तीनदिने तालिम दिइयो । कृषकको सीप अभिबृद्धि गर्दै स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको नगरप्रमुख थापाले बताएका छन् ।

नपाले कृषि सेवा गाउँगाउँसम्म पु¥याउन वडा नं। १, ३ र १२ मा गत जेठ २९ देखि ३१ सम्म एकीकृत घुम्ती शिविरमार्फत तीनसय १८ घरधुरीलाई कृषि सेवा, प्राविधिक परामर्श, सुझाव तथा कृषि सामग्री वितरण ग¥यो । दुई लाख ५० हजार खर्चिएको शिविरमा ३७ वटा माटो परीक्षण गरियो ।

जमिन बाँझो छाडेर बैदेशिक रोजगारीमा जाने, बसार्इँ जाने क्रम बढेपपछि बाँझो जग्गा व्यवस्थापन कार्यविधि २०८२ नै बनाएर बाँझो जमिन उपयोग अभियान सञ्चालित छ । सोही अभियानअन्तर्गत यसबर्ष ८४ जना कृषकलाई चारहजार आठसय कफीका बिरुवा वितरण गरिएको उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताईन् ।

त्यस्तै भाँगो खेती प्रवद्र्धन तथा व्यवस्थापन कार्यविधि २०८२ बनाएर व्यावसायिक भाँगो खेती बिस्तारको आधार तयार गरिएको छ । नगरपालिकाले ३९ जना कृषकलाई गत चैत १५ देखि १७ सम्म तीनदिने अन्तरक्रिया तथा खेती प्रविधि प्रशिक्षण र २० किलो भाँगोको बीउ वितरण गरिएको थियो ।

नपाले अकबरे खोर्सानीलाई व्यावसायिक बनाउन पकेट कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा नं १२ साङ्रुम्बामा गत आ।ब।देखि सञ्चालनमा रहेको अकबरे खुर्सानी पकेट विकास कार्यक्रम प्रभावकारी बन्दै गएको त्यहाँका वडाध्यक्ष लाखमान लिम्बूले बताए । सङ्घीय सरकारको ६० लाख रुपैयाँ सहयोगमा सञ्चालित उक्त कार्यक्रमबाट ८२ कृषकले एकसय ३८ रोपनीमा अकबरे खेती गरिरहेका छन् ।

‘कृषि, पशुपक्षी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रमअन्तर्गत तीनसय ७० घरधुरीको प्रारम्भिक सूचीकरण गरिएको छ । वडा नं। २ सुम्बेकमा नौवटा टोल विकास संस्थामार्फत २० हजार अलैँचीका बिरुवा रोपिएको छ’, वडा नं ४ का वडाध्यक्षसमेत रहेका नगर कार्यपालिकाका प्रवक्ता नुतनदेव दुलालले भने, ‘वडा नं। ९ मा कृषकलाई उन्नत तरकारीका बीउ, मकैको बीउ तथा केराका बिरुवा वितरण गरिएको छ ।’

सिञ्चाइ सुविधाको पहुँच बिस्तार गर्न मागमा आधारित सिञ्चाइ प्रबद्र्धन कार्यक्रमअन्तर्गत वडा नं। ८ मार्फत कृषकलाई एकहजार मिटर पाईप वितरण गरिएको छ । वडाध्यक्ष दलमान तामाङले पाईप वितरणपछि सिञ्चाइ सहज भएको बताए । ‘पानीको समस्याले खेती नफस्टाएको गुनासो थियो । अहिले धेरै सहज भएको छ’, तामाङले थपे ।

कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत श्रम लागत घटाउन र उत्पादन प्रणालीलाई आधुनिक बनाउन वडा नं। ५ मा १० वटा मिनी टिलर, २६ वटा च्याप्कटर तथा एउटा गहुँ झार्ने थ्रेसर वितरण गरिएको छ । वडा नं। १ मा मेडपाको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा ३० चिया उत्पादकलाई एक÷एकवटा चिया टिप्ने औजार बाँडिएको छ ।

प्राकृतिक खेती सम्बन्धी तालिमसँगै वडा नं। १० मा ३० प्रतिशत लागत साझेदारीमा १८ कृषकलाई तीनहजार ५० मिटर सिञ्चाइ पाइप, १३ जनालाई चारसय लिटर क्षमताका प्लास्टिक ड्रम, चारजनालाई प्लास्टिक टनेल, दुई जनालाई नेटजाली तथा एक जनालाई मल्चिङ प्लास्टिक दिइएको छ । ‘सिञ्चाई समस्या थियो । नपाले दिएको ड्रम, टनेल र पाइपले राहात पुगेको छ’, स्थानीइ राजेन्द्र श्रेष्ठले भने । अर्का किसान सदेन प्रधानले सिञ्चाई अभावमा बाँझो छोडेको जमिनमा खेती लगाउन सजिलो भएको बताएका छन् ।

नगरपालिकाकी उपप्रमुख लिम्बूले कृषि क्षेत्रमा गरिएको लगानीले महिलासहित साना किसानलाई समेत प्रत्यक्ष लाभ पुगेको बताईन् । उनका अनुसार, नगरपालिकाले उत्पादनमूलक कार्यक्रमसँगै क्षमता विकास र प्रविधि हस्तान्तरणका कार्यक्रमलाई पनि समान प्राथमिकता दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले कृषि क्षेत्रलाई परिणाममुखी बनाउन अनुदान, तालिम, पूर्वाधार तथा प्राविधिक सहयोगलाई एकीकृत रूपमा अघि बढाइएको बताए । ‘तीन तहका सरकारबीचको समन्वयले कृषिमा धेरै काम भएको छ । किसानलाई व्यावसायिक बनाउने र गुणस्तरीय उत्पादन बनाउने पालिकाको प्रमुख ध्येय छ’, खड्काले भने ।

नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेको लगानी, प्राविधिक सहयोग, तालिम, राहत तथा उत्पादनमुखी कार्यक्रमले इलाममा व्यवसायिक कृषिप्रति आकर्षण बढ्दै गएको छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय