विद्यार्थीलाई कानुनी रुपमा सचेत बनाउन माईजोगमाईमा अभिमुखीकरण

द्वारा प्रकाशित गरिएको हो |
२०८३ असार १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

photo-AI creation

रोशन काफ्ले
असार १२,इलामः माईजोगमाई गाउँपालिकाको न्यायिक समितिको आयोजनामा विद्यार्थीहरूलाई लक्षित गरी कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युवा पुस्तामा कानुन, न्याय, अधिकार र कर्तव्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उजुरी प्रशासक श्याम सेम्बोले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा अमरकल्याण माध्यमिक विद्यालय, शिवमाई माध्यमिक विद्यालय, इलाम शुभकन्या इङ्ग्लिस स्कुल, नामसालिङ माध्यमिक विद्यालय, नेपालज्योति माध्यमिक विद्यालय, सिरिशे माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, प्याङ माध्यमिक विद्यालय तथा ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले समाजमा शान्ति, सुशासन र कानुनी शासन कायम राख्न नागरिकमा कानुनी चेतनाको विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले कानुन उल्लङ्घन गर्ने जो–कोही पनि कानुनी दायराभन्दा बाहिर नरहने उल्लेख गर्दै विद्यार्थीहरूलाई सानै उमेरदेखि जिम्मेवार र कानुनप्रति सचेत नागरिक बन्न आग्रह गर्नुभयो। विद्यालय तहबाटै कानुनी शिक्षा र सचेतना विस्तार गर्न सके भविष्यमा विभिन्न सामाजिक तथा कानुनी समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक प्रविना राईले न्याय, अन्याय, अधिकार, कर्तव्य र सामाजिक जिम्मेवारीबारे विद्यार्थीलाई जानकारी गराउनु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले कानुनी ज्ञान मात्र नभई अनुशासित, जिम्मेवार र सचेत नागरिक निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले न्यायिक समितिको भूमिका, विवाद व्यवस्थापन र मेलमिलाप प्रक्रियाबारे जानकारी गराउनुभयो।

सहजकर्ता श्याम सेम्बोले स्थानीय सरकारको संरचना, न्यायिक समितिको कार्यक्षेत्र, कानुनी साक्षरताको महत्व तथा पछिल्लो समय बढ्दो साइबर अपराधका विषयमा प्रस्तुति दिनुभयो। उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन ठगी तथा अन्य साइबर अपराधबाट बच्ने उपाय र सम्बन्धित कानुनी व्यवस्थाबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै कानुनी ज्ञानले सही निर्णय लिन र आफ्नो अधिकारको रक्षा गर्न सहयोग पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुनी साक्षरता, न्यायिक प्रक्रिया, साइबर सुरक्षा र स्थानीय सरकारका गतिविधिबारे उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले विद्यालयस्तरमै यस्ता कार्यक्रम सञ्चालन हुँदा व्यवहारिक ज्ञान हासिल गर्न सहज हुने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए।

माईजोगमाई गाउँपालिकाले विद्यार्थीहरूमा कानुनी चेतना अभिवृद्धि गर्दै जिम्मेवार, अनुशासित र सचेत नागरिक निर्माण गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय