भाँचिएको पुल सूर्योदय र माईजोगमाईले तत्काल मर्मत गर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०८२ बैशाख २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलामको फिक्कल–नयाँबजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुल तत्काल मर्मत गरिने भएको छ । आज पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघि बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाचिएपछि यातायत सञ्चालनमा समस्या भएको हो ।

पुल भाचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ । पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको स्थानीय सवारी चालक फुरी शेर्पाले जानकारी दिनुभयो । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खेसहित क्षेत्रमा दैनिक रूपमा सयौं सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

पुलको मर्मतका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख रकम तत्काल काम गर्ने गरी छुट्याएको सूर्योदय १ का वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो । ‘आजभन्दा तीन बर्षअघि सूर्योदय र माईजोगमाईको १७ लाख लागतमा मर्मत गरिएको उक्त पुल केही समययता जिर्ण बनेपछि ९ दिन अघि निर्माण प्रकृया थाल्ने सहमती गरेका थियौँ ।’ वडाध्यक्ष शेरेङले भन्नुभयो, ‘अब तत्कालै मर्मत हुन्छ । चाँडै यातायाता आवतजावत सहज हुन्छ ।’ माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका इन्जिनियर आइतबार नै पुलको निरीक्षण गरेकाले तत्काल निर्माणको काम दुई पालिकाको समन्वयमा थालिने जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त पुल सञ्चालनका लागि तत्काल दुई पालिकाले पहल गरेर यातायत सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । उहाँले अस्थाई संरचना निर्माण गरेपनि दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

फिक्कल नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशकपछि एक डेढ वर्ष अघि मात्र कालोपत्रे गरिएको थियो । उक्त क्षेत्रका कोशी प्रदेश सांसद खिनु लङवा लिम्बूले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि क्रमागत रूपमा बजेटको व्यवस्था गरेको र चाडै बोलपत्र आह्वान हुने जानकारी दिनुभयो ।

फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा पहिरोले सडक बगाएको छ । उक्त सडक मर्मत नगरिए यस पटकको बर्खामा उक्त सडक भएर सवारी सञ्चालनमा समस्या हुने भएको छ । उक्त सडक बनाउन २५र३० लाख लाग्ने भए पनि प्रदेश सरकारले मर्मतका लागि पाँच लाख रुपियाँ मात्र विनियोजन गरेपछि काम अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय